जातीय छुवाछुत र दुर्व्यवहारविरुद्ध उजुरी 

6.49k
Shares

धादिङ । 

धादिङ नीलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङका  २६ वर्षीय रामबहादुर विसुन्केलाई कथित  जातीय आधारमा साेही वडाका वडा सदस्य ४५ वर्षीय हिम पाठकले अपशब्द बोल्दै ज्यानमार्नेसम्मकाे धम्की दिएकोले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिए ।

खेतमा रोपाइँ गरिरहेका पीडितलाई ०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा रोपाइँ गर्दै गर्दा पानी प्रयोग गर्ने विषयमा आराेपित पाठकले जातीय अपशब्द प्रयोग गरी पाइप खोसेर फ्याँक्नुका साथै उनलाई लछारपछार गरी प्राणघातक धम्की दिएका थिए ।

घटनापछि विसुन्के भागेर जिल्ला प्रहरी कार्यालय धादिङमा साउन १९ गते निवेदन दर्ता गराएको र प्रहरिले पाठकलाई फोन गरि बोलाउँदा उनी त्यहाँ उपस्थित   नभएपछि  पीडितले जाहेरी लेख्न पुगेका थिए। उनले जाहेरीमार्फत “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

घटनाको सम्बन्धमा जाहेरी परेको र जाहेरी दर्ताको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए।