हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे


 काठमाडौँ। 

 सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नु पर्ने बताएका छन् ।

 काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजीत सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले भने, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्त गर्छ ।”

सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तती हुन । उनले भारतबाट वाणीज्य शास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत रहेका छन् । प्रशासन, कुटनीतिक, लेखन लगायत समाजसेवामा उनले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिनुले ठुलो उपलब्धी रहेको मन्त्री गुरुङको धारणा छ । साथै यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा समेत मिल्ने उनले बताए ।

हुलाक सेवा विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञ सँगै समाजमा लोपोन्मुख रहेका रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनको समेत हुलाक टिकटमा प्रकाशन गरेर प्रचार प्रसार गर्ने कार्य भएको जानकारी दिए ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्ती, छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नामम हुलाक टिकट प्रकाशन गर्नुले राष्ट्रबाट पुरै परिवार नै सम्मानीत भएको महसुस गरेको बताए ।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, संघर्ष र योगदानबाट आफू सधै प्रेरीत रहेको सुनाइन्  । खास गरी नेपालको प्रशासनीक क्षेत्रमा उनले देखाएको  कुशलता र बुद्धिमतताले आगामी पुस्ताको लागि महत्त्वपूर्ण पाठ बनेको सञ्चार सचिव अर्यालको धारणा छ ।

विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार भीमबहादुर पाँडे जस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट केवल कागज मात्रै नभई सिंगो मुलुकको एतिहासीक दस्तावेज रहेको बताए । विभागले राष्ट्रमा योगदा पुर्याका व्यक्तित्वको खोजी गर्दै  हुलाक टिकट प्रकाशन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।