खापुङको निर्विकल्प यात्रापछि कार्कीको पालो पक्का

58.09k
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गतेदेखि ३० वर्षे सेवाअवधि पूरा गर्दै अवकाशमा जान लाग्नुभएको छ । करिब ६ महिनामात्र प्रहरी नेतृत्व सम्हाल्नुभएका थापा आफ्नो पदावधि पूरा गर्दै बिदा हुँदै गर्दा अब प्रहरी नेतृत्वमा हुने संक्रमणले सुरक्षा निकायको भविष्यलाई नयाँ मोड दिने संकेत देखिएको छ ।

थापाको अवकाशसँगै ३२औँ प्रहरी महानिरीक्षकका लागि प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ निर्विकल्प उम्मेदवारका रूपमा देखिनुभएको छ । खापुङ थापाकै ब्याचमा नियुक्त भए पनि तीन लटमा भएको नियुक्ति प्रक्रियाले उहाँलाई ढिलो एआईजी बनाएको थियो । हाल प्रशासन र मानव संशाधन व्यवस्थापनमा अनुभवी, अपराध अनुसन्धानमा दक्षताका कारण खापुङलाई आईजीपी बन्ने बाटो खुलेको छ ।

खापुङले प्रहरी जीवनमा धेरैजसो समय संगठनभित्रैको संवेदनशील जिम्मेवारीमा बिताउनुभएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व, कोशी प्रदेश प्रहरी प्रमुख र हाल सीआईबीको कमान्ड गर्दै आउनुभएका खापुङ उच्चस्तरीय अनुसन्धानमा दक्ष मानिनुहुन्छ । एआईजीमा बढुवा हुँदा पनि उहाँ मेरिट लिस्टमा पहिलो नम्बरमा पर्नुभएको थियो ।
यसरी हेर्दा खापुङको नियुक्ति स्वाभाविक देखिन्छ ।

अन्य प्रतिस्पर्धी सहकर्मीहरू उमेर हद वा सेवा अवधिका कारण भदौमै अवकाश हुँदै छन् । फलस्वरूप, ३२औँ आईजीपीमा खापुङ एकल प्रतिस्पर्धी बन्नुभएको छ । खापुङले प्रहरी महानिरीक्षकको रूपमा दुई महिना बिताउनुहुने छ । त्यसपछि उहाँ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानुहुने भएको छ ।

खापुङपछिको नेतृत्वमा एआईजी दानबहादुर कार्की निर्विकल्प उम्मेदवार देखिनुभएको छ । खापुङपछि सेवा अवधि र सिनियरिटीमा कार्की अगाडि हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी नेतृत्वमा राजनीतिक हस्तक्षेप नगर्ने, सिनियरिटी र कार्य दक्षताको आधारमै नियुक्ति गर्ने सार्वजनिक धारणा व्यक्त गरिसक्नुभएकाले पनि आईजीपीमा कार्की निर्विकल्पजस्तै देखिनुभएको छ ।

प्रहरी नेतृत्वमा यो संक्रमण संवेदनशील घडीमा भएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नयाँ प्रहरी विधेयक पारित भएको भए आईजीपी थापाको कार्यकाल कम्तीमा ६ महिना लम्बिने थियो । तर, समितिभित्रको विवादका कारण विधेयक टुंगोमा पुग्न नसकेपछि अहिले समितिमा थन्किएको छ ।

प्रहरी नेतृत्वमा खापुङको अपेक्षित नियुक्ति र त्यसपछि कार्कीको सम्भावित उत्थानले संगठनमा सिनियरिटी र कार्य दक्षताको आधारमा नेतृत्व परिवर्तन हुने नयाँ संस्कृतिको संकेत दिन सक्छ । लामो समयसम्म प्रहरी नेतृत्व राजनीतिक हस्तक्षेप र अस्वाभाविक प्रतिस्पर्धाको घेरामा फस्ने गरेको इतिहास छ ।

खापुङको निर्विकल्प आईजीपी नियुक्त हुने सम्भावनाले संगठनमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ । तर, यो स्थिरता केवल व्यक्तिपरक नभई संस्थागत अभ्यासमा रूपान्तरण हुन सकेमात्र दिगो हुनेछ । त्यसपछि आउने कार्कीको सम्भावित पालोले प्रहरी नेतृत्वलाई निरन्तरता दिने हो भने नेपाल प्रहरीको अनुशासन र जनविश्वासमा नयाँ उचाइ आउन सक्छ ।