नेपाली मेला २०२५ को तयारी पूरा


तमुधि यूकेले नेपाली दुतावास लन्डनको सहकार्यमा १६ औँ नेपाली मेला २०२५ को तयारी पूरा गरेको छ । आफ्नै भवन सरीमा  आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष जुमकाजी श्रेष्ठ , महासचिव विशाल गुरुङ्ग लगायतको कार्यसमितिले पत्रकार सम्मेलनमार्फत नेपाली मेला २०२५ को बृस्तित जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा तमुधि युकेका पूर्व अध्यक्षहरु , आमा समूहका पदाधिकारीका साथै समाजका जिम्मेवार व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

अगष्ट २४ आइतबार लन्डनको केम्पटन पार्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ” नेपाली मेला – २०२५ ” हुने आयोजक तमुधि युकेले भनेको छ ।  नेपाली मेलामा मुख्य अतिथिमा बेलायतका लागि नेपाली राजदूत श्री चन्द्रकुमार घिमिरे र विशेष अतिथिमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लाई आमन्त्रित गरिएको छ ।

विशेषतः यूकेमानै हुर्किएका दोश्रो पुस्तालाई नेपाल बुझाउन , नेपाली संस्कृति परम्परलाई संरक्षण र संवर्द्धन गर्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रचार – प्रसार गर्न र नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाली मेला सहयोगी हुने तमुधि यूकेल विश्वास लिएको छ । 

नेपाली मेलामा यो बर्ष पनि करिब  ३ दर्जन भन्दा बढी  संघ संस्थाको विभिन्न साँस्कृतिक प्रस्तुति रहनेछ । लोकसंगित , नृत्य , हस्तकला प्रदर्शन, परम्परागत लुगा , गहना र नेपाली परिकार मेलाको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । 

मेलाका लागि आवश्यक आन्तरिक तथा बाह्य सुरक्षा , सवारी व्यवस्थापन, खानाको गुणस्तर , पाहुना सत्कार , स्टेज , स्टल  व्यवस्थापनका लागि आयोजकले कार्य विभाजन गर्दै विभिन्न उपसमिति तयार गरेको छ । 

नेपाली मेला हाम्रो पहिचानको उत्सव मात्र होइन आर्थिक अवसर पनि हो  भन्दै आयोजकले गतवर्ष जस्तै समुदायको बाक्लो र उत्साहजनक  उपस्थित रहने विश्वास लिएको छ । बहुआयामिक प्रस्तुति  र समुदायको एकताका लागि नेपाली मेलालाई व्यवस्थित र सफल बनाउँन यूके स्थित सम्पूर्ण नेपालीलाई जोडिन तमुधि यूकेले आग्रह गरेको छ । 

नेपाली मेला बेलायतको नेपाली प्रवासी माझ निकै चर्चित छ । सन २००० मा स्थापना भएको तमुधि युकेले सन २००९ देखि नेपाली मेला आयोजना गर्दै आएको छ । सन २०१९ मा मात्र कोभिड महामारीका कारण रोकिएको नेपाली मेलाको यो १६ औं संस्करण हो ।