राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान


काठमाडौं।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अत्याधुनिक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त प्रविधिको औपचारिक शुभारम्भ गरे ।

सोही अवसरमा मन्त्री पौडेलले प्रयोगशालामा थपिएको दुईवटा रिपोर्ट भेन्डिङ मेसिन को पनि उद्घाटन गरे । उनले स्वास्थ्य सेवा प्रणालीलाई आत्मनिर्भर बनाउन र प्रयोगशालालाई विश्वस्तरीय स्तरमा लैजान सरकारले निरन्तर काम गरिरहेको बताए ।

नागरिकलाई जटिल रोगको परीक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने बाध्यता हटाउने हाम्रो प्राथमिकता हो । मन्त्री पौडेलले भने— “रोग निदानदेखि उपचारसम्मको सम्पूर्ण प्रक्रिया स्वदेशमै सम्पन्न गर्न सकिने वातावरण निर्माणतर्फ सरकार प्रतिबद्ध छ ।”

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टका अनुसार डिजिटल पीसीआर सामान्य पीसीआरभन्दा धेरै परिष्कृत र संवेदनशील प्रविधि हो । यसले रगत वा नमुनामा न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्न सक्छ ।

“यो प्रविधिले क्यान्सर उपचारमा आवश्यक ठहरिने ईजिएफआर, बीसीआर–एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा घुमिरहेको ट्युमर डीएनए जाँचलाई नेपालमै सस्तो र सहज बनाइदिनेछ,” डा. भट्टले भने ।

यसअघि यस्ता परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने बाध्यता थियो, जसले खर्चिलो र समय धेरै लाग्ने गथ्र्यो । अब नेपालमै यस्ता परीक्षण उपलब्ध भएसँगै बिरामीलाई छिटो, सुलभ र भरपर्दो सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।
नवीनतम प्रविधिसँगै प्रयोगशालाले शनिबारदेखि रिपोर्ट भेन्डिङ मेसिन पनि सञ्चालनमा ल्याएको छ । यसले सेवाग्राहीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्नेछ ।

अब बिरामी वा सेवाग्राहीले प्रयोगशालाबाट पाएको युनिक कोड प्रयोग गरी आफूले नै मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्नेछन्। । यसले सेवाको सहजता मात्र नभई पारदर्शिता र दक्षता पनि बढाउने अधिकारीहरूको दाबी छ ।

मन्त्री पौडेलले प्रविधिको सुरुवातलाई नेपालको रोग निदान क्षमतामा नयाँ अध्यायको रूपमा व्याख्या गर्नुभयो । उहाका अनुसार प्रयोगशालामा अत्याधुनिक उपकरण थपिँदै जानु स्वास्थ्य सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान हुनेछ ।

“जनताले समयमै, सस्तो र भरपर्दो परीक्षण पाउनु सरकारको लक्ष्य हो,” उनले भने, “यसका लागि आवश्यक संरचना, तालिम र प्रविधिमा निरन्तर लगानी गर्दै जानेछौं ।”

विशेषज्ञहरूका अनुसार नेपालमा क्यान्सर, आनुवंशिक समस्या र अन्य जटिल रोगको परीक्षणमा डिजिटल पीसीआर प्रयोगले नयाँ सम्भावना खोलेको छ । यसले चिकित्सकलाई उपचारको निर्णय लिन सजिलो बनाउने र बिरामीलाई समयमै उपचार प्राप्त हुने आधार तयार गर्ने विश्वास लिइएको छ ।
यससँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका नयाँ पहलहरूले स्वास्थ्य सेवामा जनविश्वास बढाउने र नेपाललाई आधुनिक रोग परीक्षण क्षमतामा अघि बढाउने अपेक्षा गरिएको छ ।