सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न तहमा पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सरकारको निर्णयअनुसार बढुवा भएका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, २२ जना सशस्त्र प्रहरी उपरीक्षक, १ जना प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक, ४८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, १ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक तथा अनिवार्य अवकाशपूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले संगठनमा पदोन्नतिको विशेष महत्व रहने उल्लेख गर्दै पदोन्नति पाएका अधिकृतलाई आ–आफ्नो जिम्मेवारी निष्ठापूर्वक, सकारात्मक सोच र व्यावसायिक दृष्टिकोणका साथ निर्वाह गर्न निर्देशन दिए। उनले राष्ट्र र संगठनका लक्ष्य हासिल गर्न अधिकृतहरूको दक्षता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरसहित सशस्त्र प्रहरीका वरिष्ठ तथा कनिष्ठ अधिकृत र जवानहरूको उपस्थिति थियो।