विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे


काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधालाई विशेष महत्व दिनुपर्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले तथ्यमा आधारित जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई आमजनताले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण भए पनि स्वास्थ्य पत्रकारहरूले यो जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले रोगबारेमा भन्दा पनि रोग लाग्नबाट जोगिने विषयहरूलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो । ‘अबको चुनौती भनेकै एआईसहितका प्रविधिको दुरुपयोग, भाइरल बनाउने नाममा आउने फेक न्युज रोक्नु हो । यसमा विधागत पत्रकारिता गर्ने पत्रकार र संस्था बढी जिम्मेवार हुनुपर्छ । मलाई विश्वास छ, स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ’ – सभामुख घिमिरेले भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य पत्रकारिताको महत्व दिनानुदिन बढिरहेको बताउनुभयो । उहाँले ‘सही काम भए समर्थन, गलत भए औंल्याउनुपर्छ’ भन्नुभयो । उहाँले पत्रकारितामार्फत राज्य र स्वास्थ्य नेतृत्वकर्तालाई आवश्यक दबाब सिर्जना गर्न सकिने पनि बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै अझ क्रियाशील बन्नुपर्ने सुझाव दिनुभयो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य पत्रकारलाई ‘तेस्रो अंग’ को उपमा दिँदै पत्रकारलाई राज्यको चौथो अंग भनिन्छ । तर, स्वास्थ्य पत्रकारहरूको निगरानी र खबरदारीले गर्दा कहिलेकाहीँ मलाई तपाईंहरू नै तेस्रो अंग हुनुहुन्छ कि जस्तो लाग्छ’ भन्नुभयो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकाससँगै स्वास्थ्य पत्रकारिता उदाएको उल्लेख गर्दै महासंघ स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । मञ्चको दशौँ स्थापना दिवसकै अवसरमा संस्थापक ११ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा संस्थापक अध्यक्ष अनिल न्यौपाने, उपाध्यक्ष कल्पना आचार्य, महासचिव मनिष गौतम, सचिव सरोज ढुंगेल, कोषाध्यक्ष रामप्रसाद न्यौपानेसहित सदस्य भगवती तिमल्सिना, प्रवीण ढकाल, उद्धवराज भेटुवाल, दीपा दाहाल, भिसा काफ्ले र अंकितबाबु अधिकारी रहेका थिए ।


त्यसै गरी कार्यक्रममा स्वास्थ्य पत्रकार प्रवीण ढकाल र अनुसन्धानकर्ता श्रीमन शर्माद्वारा लिखित ‘स्वास्थ्य पत्रकारिता ः कला र कौशल’ पुस्तकको विमोचन गरिएको थियो । सभामुख घिमिरे, मन्त्री पौडेल र अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

पत्रकार ढकालका अनुसार, स्वास्थ्य पत्रकारितामाथि केन्द्रित भएर प्रकाशन भएको यो नै पहिलो पुस्तक हो । हर्ड इन्टरनेसनलले प्रकाशन गरेको एक सय ४७ पृष्ठको पुस्तकमा २६ वटा अध्याय समावेश छन् ।

कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष कल्पना आचार्यले संस्थाको स्थापनाको आवश्यकता र स्वास्थ्य बिट पत्रकारिताको महत्वमाथि प्रकाश पार्नुभएको थियो । त्यसै गरी वर्तमान अध्यक्ष भिसा काफ्लेले १० वर्षे यात्राका आरोह–अवरोह र मञ्चले अघि सारेका योजनाबारे जानकारी गराउनुभएको थियो ।