भारतीय विदेश सचिव मिश्री आज आउदै


काठमाडौं ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री आज (आइतबार) नेपालको दुई दिने औपचारिक भ्रमणमा आउदै हुनुहुन्छ ।

उहां प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौ आउन लाग्नु भएको हो । उहांले भ्रमणका क्रममा बिभिन्न उच्च पदस्थ व्यक्तिसंग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारत भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उत्तर प्रदेशको प्रसिद्ध धार्मिक स्थल बोधगयामा औपचारिक भेट हुने भएको छ । यस अघि सबै विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखले दिल्लीको हैदरावाद हाउसमा भेट गर्ने परम्परा रहेको थियो ।

अहिले सम्म दुई दिने भ्रमण भनिएपनि भ्रमण कति दिने हुने भन्ने टुंगो लागि सकेको छैन । यस पटक दुवै प्रधानमन्त्रीले केही सरप्राइज दिनसक्ने आंकलन गरिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको १४ महिना पछि ओलीले भारत भ्रमण गर्दै हुनुहुन्छ । भारत भ्रमण गर्नु अघि ओली चीनको बेइजिङमा हुने सांघाई कोअपरेशन कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन जानुहुने भएको छ ।

उक्त भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसंग औपचारिक भेटवार्ता समेत हुने कार्यक्रम रहेको मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार उहांको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत साझेदारी, कनेक्टिभिटी, विकास सहयोग, र दुवै देशका पारस्परिक हितका विविध विषयहरूमा गहन छलफल गर्नु रहेको छ । सचिव मिश्रीको भ्रमणले दुई छिमेकी देशबीच दीर्घकालीन सहयोग र विश्वास पुनःस्थापना गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

भ्रमणका क्रममा, सचिव मिश्रीले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू मात्र नभई अन्य सरकारी निकायका प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस भेटमा ऊर्जा, पूर्वाधार, यातायात, पर्यटन, आर्थिक साझेदारी, तथा सुरक्षा र सीमा व्यवस्थापनसम्बन्धी विषयहरूमा संवाद हुने अपेक्षा गरिएको छ।

नेपाल–भारत सम्बन्धमा हालैको समयमा कनेक्टिभिटी परियोजनाहरू, व्यापार–व्यवसाय, जलविद्युत् परियोजना र भौतिक पूर्वाधार विकासका परियोजनामा दुई देशबीच सहकार्य थप प्राथमिकता पाएको छ । यस सन्दर्भमा, सचिव मिश्रीको भ्रमणले भविष्यका परियोजनाहरूमा सहमति, अनुभव आदान–प्रदान र रणनीतिक योजना तयार गर्ने अवसर प्रदान गर्ने देखिन्छ ।
सचिव मिश्री सोमबार भारत फर्कन कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा हेरेका छन ।