काठमाडौं ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला पाँच महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छैन। ३ वर्षअघि उद्घाटन गरिएको यस विमानस्थलबाट हालसम्म नियमित उडान सुरु हुन नसक्दा होटल, ट्राभल तथा पर्यटन व्यवसाय धराशायी हुने स्थितिमा पुगेको छ।
२०७९ जेठमा उद्घाटन भएपनि अहिलेसम्म जम्मा ७३१ अन्तर्राष्ट्रिय उडान मात्र भएका छन्। त्रिभुवन विमानस्थल मर्मतको बेला केही समय अन्तर्राष्ट्रिय उडान भएपनि चैत १६ पछि फेरि ठप्प भएका छन्। व्यवसायीहरूले सरकारले काठमाडौंकेन्द्रित नीति अपनाएको र निजी क्षेत्रको लगानी जोखिममा परेको गुनासो गरेका छन्।
विमानस्थलका सबै पूर्वाधार र सेवा सुविधा तयार भए पनि सरकारी इच्छाशक्तिको अभाव, पर्याप्त एअरलाइन्सको अभाव, डिजिटल भुक्तानी तथा भिसा प्रणाली नहुनु, र टिकट कार्टेलिङ जस्ता समस्याले नियमित उडान अवरुद्ध भएको उनीहरूको भनाइ छ।
अक्टोबर २६ देखि थाई एअरले पुनः उडान सुरु गर्ने तयारी गरिरहेको छ। तर, अहिलेसम्मको अवस्था हेर्दा अर्बौंको लगानीमा बनेको यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनसमेत प्रभावित भएको छ।











प्रतिक्रिया