मानिस खाने देवीलाई घुमाउने भैरव– कुमारी जात्रा

6.02k
Shares

दोलखा ।

मानिस खाने देवीलाई तान्त्रीक विद्याबाट नियन्त्रण गरेपछि दोलखामा सुरु भएको भैरव– कुमारी जात्रा यो बर्ष शुक्रवार (आज) रातिबाट सकिदै छ । पाँच दिनसम्म दोलखा बजारको बिभिन्न मठमन्दिर रहेको स्थानमा प्रर्दशन गरिने यो जात्रा गत सोमवार गाईजात्राको भोलिपल्टबाट सुरु भएको थियो ।

नेपालको दोलखा सहरमामात्र प्रर्दशन गरिने भैरव– कुमारीको र्दशन र पुजा गर्दा सन्तान प्राप्ति, रोगव्याधि नलाग्ने र सोचेको काम पुरा हुने जनविश्वास रहदै आएको स्थानीय समाजिक अगुवा भरत नारायण प्रधान बताउछन् ।

जात्राको अवधिमा मनोकांक्षा पुरा होस भन्दै महिलाहरु ब्रत समेत बस्ने गरेको स्थानीयको भनाई छ । गुठीयार दाजु– भाइहरुले हरेक बर्ष पालैपालो जात्रा व्यवस्थापनको लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनु पर्ने प्रचलन समेत रहेको स्थानीयको भनाई छ ।

जात्राको सुरुवात कैलेदेखि भयो भन्ने एकिन तिथि थाहा नभएपनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको सामाजिक अभियन्ता भरत नारायणको भनाई छ । केही केहीले भने मल्लकालिन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएको पाईन्छ ।

किंवदन्ति अनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रीक दाजुभाइ थिए । उनीहरु दैनिक तामाकोशी नदिमा गएर त्यहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चडाउथे । यो क्रममा तान्त्रीक दाजुभाइले तामाकोशी किनारमा तीन दिदीबैनी खेलीरहेको देखे । तान्त्री दाजुभाइले उनीहरु भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए ।

दोलखा बजारमा ल्याएपछि उनीहरुकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माईली कालिञ्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिञ्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसंग दोलखामै राखियो ।
जेठी र कान्छी दिदी बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले ।

मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खानेगरेको थाहाँ पाएपछि तान्त्रीकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाए खोजे । यही क्रममा तान्त्रीक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिढी सहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसंग लुकामारी खेल्न थाले ।

लुकामारी खेल्दा विन्दुले तान्त्रीक विद्याबाट आफुलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रिले बाँधिदिए । अनि आफु पिठोको सिक्रि फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किंवदन्ति प्रचलनमा रहेको स्थानीय तीर्थनारायण बताउनु हुन्छ ।

बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुनलागिन र तान्त्रीकले बर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएरमात्र जान दिईएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको भरत नारायण बताउछन् । भैरव भीमेश्वरको प्रतिक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् ।

यो जात्राको क्रममा भैरव– कुमारी सहित १३ जना सेनामेना समेत हुने गरेका छन् । विगतमा भैरव– कुमारी जात्रा प्रर्दशनमा भीमेश्वरको गहना पहिरिने गरेको भएपनि अहिले सुरक्षाका कारण त्यो क्रम बन्द भएको छ । भैरव– कुमारी जात्रामा दोलखाको शिवभक्ति परिवारमात्र सहभागि हुनुपर्ने प्रचलन रहेको भरत नारायणको भनाई छ ।

यो जात्रा विगतमा पिङ्गल टोलबाट निकालीने भएपनि अहिले भने तीन बर्ष पिङ्गल टोलबाट र तीन बर्ष टँसिचा टोलबाट निकालीने गरिएको छ । तीन दिन निकालिने यो जात्रा अहिले पाँच दिन निकाल्ने गरिन्छ । किंवदन्ति अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भुतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्थ्यो । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको भरत नारायणको भनाई छ ।

भैरव– कुमारी जात्रा आज रातिबाट सकिएको छ ।