धनगढी।
साउन २३ गते शुक्रवार राती कैलाली कारागारमा भएको हिंसात्मक घटनालाई समयमा रोक्न नसकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई बुधबार गृह मन्त्रालय तानिएको छ । प्रमुुख जिल्ला अधिकारीले कारागारमा भइरहेको घटनाक्रमलाई नजरअन्दाज गरेका करण कैलाली कारागारको घटना हिंसात्मक बन्न पुगेको नागरिक समाजको आरोप थियो । प्रजिअले कारागारका कैदीबन्दीले उठाएको कुरालाई गम्भीरताका साथ लिएको भए दुःखद् घटना नहुने पनि उनीहरूको भनाइ छ । कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका थिए । झडपका कारण धनगढी उपमहानगरपलिका–४ का भरत चौधरीको मृत्यु भएको थियो ।
कैलाली कारागारका ५ सय ९० जना कैदीबन्दीले कारागारभित्र भएका अवाञ्छित गतिविधि रोक्नुपर्ने माग राख्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दर्ता गराएका थिए । आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाश भट्टले कैदीबन्दीहरूले उठाएका मागका बारेमा साउन १९ गते जिल्ला प्रशासन कार्यालय कैलालीको ध्यानाकर्षण गर्दै पत्र समेत पठाएको जानकारी दिनुभयो ।
कैदीबन्दीले पठाएको पत्रमा कारागार व्यवस्थापनको सुधार, कारागार भित्र कानुनविपरीत लेनदेन अनियमितता, कारागार प्रशासनबाट चौकीदार नाइके समेतको समन्वय तथा जानकारी नगराई कानुनी प्रक्रियाविपरीत कैदीबन्दीको सरुवा, बाह्य व्यक्तिसँग सम्पर्क गर्न लगाई कैदीबन्दीबीच मनमुटाव र मुठभेडको अवस्था सिर्जना गरेको, कारागारभित्र लागुऔषध बिक्री वितरण र तस्करी गर्ने गरी भइरहेको योजना र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यलाई जानकारी नगराई धाकधम्की देखाई गर्ने गरेको लगायतका विषयहरू उल्लेख थिए ।
कैदीबन्दीहरूको गुनासोको बारेमा मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले यी विषयवस्तु समेटेर आफूले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी हमालको ध्यानाकर्षण गराएको आयोगका सुप प्रमुख भट्टको भनाइ छ । घटनापश्चात प्रहरीलाई गोली चलाउने आदेश माग्दासमेत नदिएकाले घटनाले हिंसात्मक रूप लिएको प्रहरीको दाबी छ तर नागरिक अगुवाका अनुसार गोली चलाएको भए झन ठूलो रक्तपात हुने बताउँछन् । कैलाली कारागार घटनामा प्रजिअ र जिल्ला प्रहरी प्रमुख दुवै दोषी भएकोले दुवैजना कारबाहीको भागीदार हुनुपर्ने माग स्थानीयको छ ।
प्रमुख जिल्ला अधिकारी हमाल बिहीबार काठमाडौं जानुभएको छ भने दाङबाट कैलालीका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल आउनुहुने भएको छ । १ सय ५० जनाको क्षमता भएको यो कारागारमा करिब ७ सय कैदीबन्दी रहेका छन् ।











प्रतिक्रिया