कुवेतमा विषाक्त मदिरा सेवनबाट १३ जनाको मृत्यु, केही नेपाली पनि प्रभावित

६३ जना अस्पतालमा उपचाररत, दूतावास थप विवरण बुझ्दै


काठमाडौं।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १३ एशियाली नागरिकको मृत्यु भएको छ । मृतकमध्ये केही नेपाली रहेको आशंका गरिएको छ ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरी बिरामी भएका व्यक्तिहरूमध्ये केहीको मृत्यु भएको र अन्यको उपचार भइरहेको छ । “१२–१५ जना उपचाररत छन्, केही शवहरू पनि अस्पतालमा छन्,” उनले भने, “मृतकमध्ये कति नेपाली छन् भन्नेबारे बुझ्ने काम भइरहेको छ।”

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनाको पुष्टि गर्दै यसमा नेपालीहरू संलग्न भएको जनाए । यद्यपि, उनका अनुसार पीडित नेपालीहरूको ठ्याक्कै संख्या अहिलेसम्म यकिन भएको छैन ।
आचार्यका अनुसार विषाक्त मदिरा सेवनका कारण बिरामी परेका व्यक्तिहरूको कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा उपचार भइरहेको छ ।

कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार घटना बुधबार घटेको हो । शनिबारसम्म ६३ जना बिरामी अस्पताल भर्ना भएका छन् । तीमध्ये १३ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् ।

कुवेतमा मदिरा उत्पादन, बिक्री र सेवन कानूनी रूपमा निषेधित भए पनि अवैध रूपमा बिक्री वितरण हुने गरेको छ, जसका कारण यस किसिमका घटनाहरू समय–समयमा हुने गरेका छन् ।

कुवेतस्थित नेपाली दूतावासले घटनाबारे थप विवरण संकलन गरिरहेको र आवश्यक भए प्रभावित नेपालीहरूलाई कानुनी सहयोग उपलब्ध गराउने जनाएको छ ।