वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना काठमाडौंमा पक्राउ


काठमाडौं ।

 आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयसम्म पीडितलाई झुक्याई रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी रकम असुली सम्पर्कविहीन भएकामा पक्राउ गरिएका हुन्।

पक्राउ परेका व्यक्तिहरुमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने ४८ वर्षीया गिता माया मगर, र ओखलढुंगाकै ४६ वर्षीय सन्दिप मगर (बमबहादुर मगर) रहेका छन्। उनीहरूले रोमानिया पठाउने भन्दै चार जनाबाट २० लाख २४ हजार ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

त्यसैगरी रौतहट देवाही गोनाही नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने ४५ वर्षीय विन्देश्वर राय यादव पनि पक्राउ परेका छन्। उनले मौरिसस पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख ६० हजार असुलेको प्रहरीले जनाएको छ। यादवलाई काठमाडौं महानगरपालिका–३२ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

उनीहरूविरुद्ध आवश्यक थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार वैदेशिक रोजगारीको नाममा हुने ठगी घटनामा संलग्न व्यक्तिमाथि प्रहरीले कडाइका साथ कारबाही गरिरहेको छ।