काठमाडौं
राजनीतिक अस्थिरताभन्दा नीतिको स्थीरतामा देखिएको अभाव झनै घातक हुने भन्दै परराष्ट्र मामिलाका जानकारहरुले परराष्ट्र नीतिमा पनि साझा धारणा जरुरी रहेको बताएका छन् । उनीहरुले परराष्ट्र नीतिमा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको विश्वसनीयता र दीर्घकालिन रणनीतिक साझेदारीलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।
अन्तराष्ट्रिय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बुधबार राजधानीमा आयोजना गरेको बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमताहरु : नेपाल अध्ययन विषयक कार्यक्रममा बोल्दै परराष्ट्र मामिलाका जानकारहरुले राजनीतिक अस्थिरताभन्दा पनि नीतिमा स्थायित्वको अभावले विदेश नीतिमा झुकाव, विसंगति र असंगति ल्याएको बताए ।

कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले सरकारले साझा नीति तथा कार्यक्रम ल्याए जस्तै परराष्ट्र नीतिमा पनि साझा धारणा र राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याए । उनले राजनीतिक दलहरुले नेपालको चासोलाई सबैभन्दा उच्च राख्दै कुनै पनि राष्ट्रबाट नेपाल प्रयोग नहोस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख अपेक्षा शाहले कार्यक्रममा बहुध्रुवीयता व्यवस्थापनमा नेपालको क्षमतासम्बन्धी आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै त्यसमा नेपाल अपरिपक्व देखेको बताइन् । उनले चीनसँगको बीआरआई सम्झौता, अमेरिकासँगको एमसीसी सम्झौतालगायतमा नेपाल कमजोरी सतहमै देखिएको टिप्पणी गरिन् ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाश कुमार सुवेदीले यो कार्यक्रम दक्षिण एसियाका साना राज्यहरु जस्तै नेपालले आफ्नो राष्ट्रिय विकास र विदेश नीति लक्ष्यहरुसँगै उदाउँदो बहुध्रुबीयतालाई कसरी अगाडि बढाइरहेका छन् भन्ने सन्दर्भमा छलफल गर्न आयोजना गरिएको बताउनुभयो । उहाँले छलफलबाट आएका निष्कर्षले सरकारलाई परराष्ट्र नीतिमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया