काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद अहिले नयाँ मोडमा पुगेको छ । सरकारको स्वीकृतिमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनओसीको तदर्थ समिति गठन गरेपछि एनओसीको विवादले नयाँ मोड लिएको हो ।
जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको छ । यस अवस्थामा खेलकुदमन्त्रीले एनओसीकै पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एनओसीको नयाँ तदर्थ समिति गठन गर्नुभएको हो ।
गत पुसमा नयाँ कार्यसमिति गठन भएदेखि एनओसीको विवाद चर्किंदै गएको हो । त्यति बेलादेखि नै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई अवैधानिक ठहर गर्दै आएको प्रधानको नेतृत्वको तदर्थ समिति ९ सदस्यीय रहेको नयाँ समितिको प्रवक्ता समिम मिया अन्सारीले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता अन्सारीले भदौ १ गते सातदोबाटोस्थित एनओसी कार्यालयमा पत्रकार सम्मेलन गर्दै बाँकी सदस्य र अन्य समिति सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।
‘हामीले अहिले सबैको नाम सार्वजनिक गरेका छैनौं । पत्राचार सम्मेलनमार्फत सबै जानकारी दिनेछौं’, उहाँले भन्नुभयो– ‘अहिले संयोजक र मेरो नाम मात्र सार्वजनिक गरेका छौं । यही साउन २६ गते नेपाल ओलम्पिक कमिटीमा आबद्ध २३ वटा खेल संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।
अदालतको आदेशको अवज्ञा गर्दै गत वर्ष श्रेष्ठको नेतृत्वमा एनओसीको विशेष साधारण सभा र निर्वाचन गरेपछि एनओसीको पछिल्लो विवाद सुरु भएको थियो । उच्च अदालत पाटनको आदेश अटेर गर्दै गत मंसिर १८ गते विशेष साधारणसभाबाट विधान संशोधन गर्दै श्रेष्ठलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न बाटो तयार गरेको थियो । त्यसअघि एनओसीको दुई कार्यकाल मात्र अध्यक्ष बन्न पाउने वैधानिक व्यवस्था थियो ।
संशोधित विधानका आधारमा श्रेष्ठ तेस्रो पटक निर्वाचित हुनुभयो । सर्वोच्च अदालतले निर्वाचन रोक्न दिएको आदेशविपरीत अनलाइनमार्फत गरिएको निर्वाचनमा श्रेष्ठ निर्वाचित भएको एनओसीले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
श्रेष्ठ दुई कार्यकाल महासचिव हुँदा प्रधान अध्यक्ष हुनुहुन्थ्यो । दोस्रो कार्यकालपछि प्रधान एनओसीबाट बिदा हुनुभयो र श्रेष्ठ अध्यक्षमा आउनुभएको थियो । प्रधानलाई एनओसीले मानार्थ अध्यक्ष बनाएको थियो । नेपाल जिम्यास्टिक संघका अध्यक्षसमेत रहेका नेपाल प्रहरीका पूर्वआईजीपी प्रधान राप्रपाका निर्वाचत संघीय सांसद हुनुहुन्छ ।
श्रेष्ठ नेतृत्वको एनओसीद्वारा दाबी
जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका महासचिव राजीव श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रही आवधिक निर्वाचन गर्दै आएको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) बाट मान्यता प्राप्त एनओसी आफूहरूमात्र रहेको दाबी प्रस्तुत गर्नुभएको छ ।
आईओसीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३७ ले समेत एउटा देशमा एउटामात्र एनओसी रहन सक्ने व्यवस्थालाई पनि विज्ञप्तिमा स्मरण गरिएको छ । एनओसी तदर्थ समिति गठन गरिएको भनी जारी प्रेस विज्ञप्तिमा प्रयोग भएको लेटर प्याड आफूहरूले नेतृत्व गरेको एनओसी रहेको दाबी गरिएको छ ।
‘लेटर प्याडमा प्रयोग ओलम्पिक रिङ, लोगो ओसीएको सम्पत्ति हो । यसको प्रयोग ओसीएको मान्यता प्राप्त एनओसीले मात्र प्रयोग गर्न पाइन्छ । तसर्थ एनओसीको लेटर प्याड तथा रिङ लोगो र ओलम्पिक झण्डाको प्रयोग अनाधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई यसै सूचित गर्दछांै’ –विज्ञप्तिमा उल्लेख छ । नेपालमा ओलम्पिक गतिविधि गर्ने, ओसिएको छाताभित्र आयोजना हुने खेलकुद प्रतियोगिताहरूमा नेपालको सहभागिता सुनिश्चितता आफूहरूको नेतृत्वमा रहेको एनओसीले मात्रै गर्दै आएको उल्लेख छ ।











प्रतिक्रिया