चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपतिहरुलाई सहकुलपतिद्धारा नियुक्तिपत्र हस्तान्तरण


काठमाडौँ। 

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपतिलाई बुधबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले चार प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका थिए ।

बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. पुजनकुमार रोकाया, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा.बुद्धिप्रसाद पौडेल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. विक्रमप्रसाद श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरे । 

सो अवसरमा मन्त्री पौडेलले नव–नियुक्त उपकुलपतिहरूलाई आफ्नो प्रतिष्ठानलाई अब्बल बनाउन जिम्मेवारीपूर्वक खटिन निर्देशन दिए । उनले स्वास्थ्य शिक्षा र उपचार सेवाको गुणस्तर वृद्धि, अनुसन्धान प्रवर्धन तथा जनस्वास्थ्यको पहुँच विस्तारमा सक्रिय योगदान दिन आग्रह गरे । 

चारवटै उपकुलपतिहरूलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो  । यसअघि, असार ४ गते सरकारको निर्णयअनुसार स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठन गरिएको सर्च कमिटीले सिफारिस गरेको आधारमा मंगलबार नियुक्ति गरिएको हो । सर्च कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र डा. डिल्लीराम शर्माको पनि उपस्थित थियो ।