समावेशी राष्ट्रिय नीति निर्माणमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण 


ललितपुर।  

जलवायु परिवर्तन, लैङ्गिक समानता तथा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा जनचेतना फैलाउन युवा पुस्ताको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरुले औँल्याएका छन् ।

युनेस्को ग्लोबल युथको सहयोगमा ‘एम्पावर हर’ले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार लगायतका विषयलाई सशक्त रुपमा उठाउन र दीगो तथा न्यायपूर्ण भविष्यका लागि समावेशी राष्ट्रिय नीति निर्माणमा युवा पुस्ताले महत्त्वपूर्ण योगदान दिनसक्ने बताए । 

कार्यक्रममा प्रतिनिधि सभाको उपाध्यक्ष इन्दिरा राना मगरले फरक भूगोल र फरक समुदायका युवाहरुलको नेतृत्व विकासमा ध्यान दिन सके मात्र समग्र राष्ट्रको विकास अघि बढ्ने धारणा अघि सारिन् । त्यसैगरी पूर्व शिक्षा तथा स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले जलवायु संकट आउँदा त्यसबाट सबैभन्दा प्रभावित मानव जाति नै हुने र त्यसमाथि पनि हाम्रो जस्तो विकशील तथा अल्पविकसित राष्ट्र नै बढी जोखिममा पर्ने भएकोले जलवायु संकट रोकथामको उपायहरुतर्फ युवा जागरुकता बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए । 

कार्यक्रममा ग्रीनटेक फर वुमेन की संस्थापक अध्यक्ष आर्या मानन्धरले जलवायु परिवर्तन, लैङ्गिक समानता, र गलत सूचना, भ्रामक सूचना तथा दुर्भावनायुक्त सूचनाका चुनौतीहरूबीचको खाडल र अन्तरसम्बन्धहरूबारे जानकारी दिइन् ।

 कार्यक्रममा प्यानलिष्टको रुपमा रहेका डा। यज्ञ कार्की, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। महेश्वर ढकाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा। विष्णु हरि नेपाल, जापानका पूर्व राजदूत डा। सरिना वैद्यले जलवायु संकट, लैङ्गिक समानता तथा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा युवाको भूमिकालाई कसरी सशक्त बनाउने भन्ने विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा एम्पावर हर युवा आवाज सशक्त बनाउने, क्षेत्रगत सहकार्य सुदृढ गर्ने र दिगो तथा न्यायपूर्ण भविष्यका लागि समावेशी राष्ट्रिय नीतिहरू निर्माणमा योगदान पुर्याउने महत्त्वपूर्ण मञ्चको रूपमा क्रियाशील रहेको बताइयो ।