महानगरले पानी ढुवानी गर्ने गाडी नियन्त्रणमा लिनु निन्दनीय


हेटौंडा। 

नेपाल पानी उद्योग महासंघले काठमाडौं उपत्यकामा आवद्ध पानी उद्योगीहरुले २२ वर्षभन्दा बढी समयदेखि स्वच्छ, सुरक्षित प्रशोधित पानी आपूर्ति गर्दै आएको भन्दै महानगरपालिकाले पानीका जारहरु जफत तथा क्षति पु¥याउनु जस्ता घटना गर्नु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय रहेको बताएको छ ।

महासंघले पानी ढुवानी गर्ने गाडी नियन्त्रणमा लिनु, अन्य गाडीहरुलाई बाटोमै रोक्नु र उद्योगीलाई अपमानजनक व्यवहार गर्नु उचित नभएको उसको भनाइ छ । महासंंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा यस्ता कार्यहरुले आवश्यक सेवामा प्रत्यक्ष अवरोध सिर्जना गरेको, उद्योगी तथा कर्मचारीको मनोबलमा नकारात्मक असर पारेको, उपभोक्तामा पानीको अभाव र असुबिधा ल्याउने अवस्था सिर्जना गरेको बताएका छन् ।

‘हाम्रो स्पष्ट धारण छ कि कुनै विवाद वा समस्या समाधान गर्न वार्ता, छलफल र सहकार्य नै दीर्घकालीन र सकारात्मक उपाय हो । उद्योगी र स्थानीय निकायबीच मतभेदलाई एकपक्षीय बल प्रयोग, जरिवाना वा आपूर्ति रोक्ने कार्यमार्फत समाधान गर्न खोज्नु अनुचित र अस्वीकार्य छ,’ प्रेस विज्ञप्तिमार्फत नियन्त्रणमा लिइएको गाडी तत्काल र कुनै शर्तबिना उद्योगीलाई फिर्ता गर्न, पानी आपूर्ति सहज बनाउने वातावरण तयार गर्न, उद्योगी र स्थानीय निकायबीच नियमित संवाद र समन्वय संयन्त्र विकास गर्न र उपभोक्ताको हितलाई सर्वोपरि राखी समस्या समाधान गर्ने दीर्घकालीन कार्ययोजना बनाउन आग्रह गरिएको छ।

पानी बोक्ने सवारीसाधनमा मापदण्डविपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न महासंघले भनेको छ । पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराब अवस्था हुन नदिन उद्योगीलाई संवेदशील रहन आग्रहसमेत गरिएको छ ।

महासंघले काठमाडौं पानी उद्योग संघको माग र धारणाप्रति पूर्ण समर्थन जनाउँदै समस्या समाधानका लागि सकारात्मक संवाद र सहकार्यको वातावरण बनाउनेतर्फ सबै सरोकारवालालाई अग्रसर हुन आह्वान गरेको छ । ‘यदि समयमा यथोचित पहल नभए महासंघ आफ्ना सदस्य संघहरुसँग समन्वय गर्दै मुलुकभरका पानी उद्योगीलाई सहभागी गराइ चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछ, जसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायको हुनेछ,’ प्रेस विज्ञप्तिमा नेपालको पानी उद्योग क्षेत्रको सर्वोच्च प्रतिनिधि संस्था महासंघमा आवद्ध रहेका सबै सदस्य संघहरुको प्रमुख उद्धेश्य जनतामा सुरक्षित, स्वच्छ र गुणस्तरीय पिउने पानीको आपूर्ति सुनिश्चित गर्नु रहेको उल्लेख छ । ‘विगत लामो समयदेखि उद्योगीहरु उपभोक्ताका आवश्यकता र स्वास्थ्यलाई प्राथमिकतामा राखी चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर सेवा पु¥याउँदै आएका छन्,’ प्रेस विज्ञप्तिमा महासचिव अधिकारीले भनेको छ।

काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीका जारहरुको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरुको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो । एक हप्ता अवधिमा २ सय ७१ जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।

पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमूनाहरु प्रयोगशालामा पठाइएको छ । साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारीसाधनहरुको जाँच गरिएको थियो । साउन २१ गते वडा नम्बर–७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारीसाधन अनुगमन गरिएकोमा ६७ वटा जार बरामद गरिएका थिए । साउन २३ गते वडा नम्बर–१६, माछापोखरी–बालाजु क्षेत्रमा २० सवारीसाधनहरुको अनुगमन गरिँदा ६८ वटा जार नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको थियो ।