दुर्घटना न्यूनिकरण गर्न स्थानीयको सचेतना अभियान

940
Shares



उदयपुर ।

उदयपुरमा दुर्घटना प्रभावित क्षेत्रमा स्थानीय युवा, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चालकलाई सचेत गराउने अभियान सञ्चालन गरेका छन् ।

मंगलबार, स्थानीय युवा उद्यमी प्रलाद कार्कीको नेतृत्वमा रौतामाई गाउँपालिका–७ का वडा अध्यक्ष मनोज राना मगर, उदयपुरगढी गाउँपालिका–७ का वडा अध्यक्ष भुवन केप्छाकी मगर, ट्राफिक प्रहरी र पत्रकारहरूको टोलीले दिनभर सवारी चालकहरूलाई सतर्क रहन आग्रह गरे । टोलीले विशेषगरी बाटो ओरालो र अत्यधिक दुर्घटना हुने क्षेत्रमा बिस्तारै सवारी चलाउन अपिल गरेको थियो।

कार्कीका अनुसार, सो क्षेत्रमा दैनिक जसो दुर्घटना हुने भएकाले बाध्य भएर सचेतनामूलक कार्यक्रम गर्नुपरेको हो । केही समयअघि सोही स्थानमा गाडीको ठक्करबाट बाख्रा चराइरहेका एक स्थानीयको मृत्यु भएको थियो ।

पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएको धेरै भएको छैन । तर, उदयपुर खण्डमा दुर्घटनाको दर उच्च छ । बसाहा (उदयपुर) देखि भिमान (सिन्धुली) सम्म १३४ किलोमिटरमध्ये उदयपुरमा पर्ने ९१ किलोमिटर क्षेत्रमा मात्र गत एक वर्षमा २६० वटा दुर्घटना भएका छन् । यस अवधिमा ३२ जनाको मृत्यु, ५सय१७ जना घाइते र ३४९ सवारी साधन क्षतिग्रस्त भएका छन् ।
नेपालटार–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेरीदेखि जोगीटोलसम्मको तीन किलोमिटर अति संवेदनशील छ । बाक्लो जंगल, ओरालो र चिल्लो सडकका कारण यहाँ सबैभन्दा धेरै दुर्घटना हुने गरेको छ ।
स्थानीय प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र सडक कार्यालयले दुर्घटनाग्रस्त क्षेत्रमा चेतावनी बोर्ड, संकेत रबर स्ट्रिप जस्ता उपाय लागू गरेका छन् । तर पनि दुर्घटनामा कमी आएको छैन ।

विशेषज्ञहरूका अनुसार, इन्जिनियरिङ त्रुटि र सवारी साधनको तीव्र गतिको संयोजन दुर्घटनाको मुख्य कारण हा े। राजमार्गमा अत्यधिक मोड छन् र चालकहरूले घुम्ती सडकमा पनि ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी—कसैकसैले ८० किलोमिटर प्रतिघण्टासम्म—गतिमा सवारी चलाउने गरेका कारण यस क्षेत्रमा अत्यधिक दूर्घटना हुने गरेको छ ।