कैदीको मृत्युपछि वीरगञ्ज तनाबग्रस्त : छानबिन समिति गठन

3.67k
Shares

वीरगञ्ज ।

वीरगञ्जको नारायणी अस्पतालमा कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि मंगलवार तनाब उत्पन्न भएको छ । नारायणी अस्पतालमा तनाब भएपछि छानबिनका लागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नारायणी अस्पतालमा मंगलवार बिहान उचपारका क्रममा वीरगञ्ज कारागारका कैदी २८ वर्षीय राहुल साह तुराहाको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा विगत पाँच वर्षदेखि कैद सजाय भुक्तानी गरिरहेका वीरगञ्ज–२८ घर भएका राहुललाई बिहान कारगारभित्रै शारीरिक व्यायाम गर्ने क्रममा हर्ट अट्याक भएपछि कारागार प्रशासनले तत्कालै उपचारका लागि नारायणी अस्पतालमा पु¥याएको थियो ।

तर, त्यहाँ शुरूमा आइसीयू वार्डमा श्यया खाली नभएपछि उनलाई चिकित्सकले अन्यत्र लैजान सुझाएपछि उनका आफन्तले एम्बुलेन्स मगाएका थिए । त्यसपछि नारायणी अस्पतालकै आइसीयू वार्डमै श्ययाको व्यवस्थापन गरेर उनको उपचार गर्ने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले स्थानीय प्रशासन र प्रहरीले अन्यत्रको अस्पतालमा लैजान नदिएकाले उपचार नपाएर राहुलको मृत्यु भएको भन्दै अस्पतालअगाडि टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

कैदी मृत्यु प्रकरणमा विवाद भई विरोध प्रदर्शन भएपछि मंगलवार दिउँसो जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोेहबरमा मृतक पक्ष, जनप्रतिनिधि, पर्साका प्रहरी उपरीक्षकसहितको सहभागितामा छलफल भएको थियो । उक्त छलफलमा कैदी मृत्युको प्रकरणबारे सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

उक्त समितिको सदस्यमा पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगञ्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका एक जना प्रतिनिधि, एक जना मानव अधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका एक एक जना प्रतिनिधि रहेका छन् । कैदी मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय पर्सामा पेस गर्न समितिलाई निर्देशन पनि दिइएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

मृतक पक्षले उपचारका क्रममा लापरबाही गरिएको भनेर स्थानीय प्रशासन र प्रहरीमाथि आरोप लगाएपछि त्यसबारे सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको प्रजिअ अर्यालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्तसँग सहमति भएपछि मंगलवार साँझ मृतक कैदी राहुलको शव नारायणी अस्पतालमै पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।