काठमाडौं ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारित गर्ने प्रक्रियामा आयोगका तत्कालीन प्रमुख आयुक्त उपाध्यायको संलग्नता रहेको भन्दै छानबिनको मागसहित अख्तियारमा मंगलवार उजुरी दर्ता भएको हो ।
सो उजुरीमा ललिता निवासको १४३ रोपनी जग्गा निजी स्वामित्वमा पर्न दिने निर्णयमा उपाध्यायको प्रत्यक्ष भूमिका रहेको दाबी गरिएको छ । उजुरीकर्ताले विभिन्न मितिमा भएका निर्णय तथा प्रमाण पेस गर्दै उपाध्यायलाई यस प्रकरणका प्रमुख दोषीमध्ये एक ठहर गर्न माग गरेका छन् ।
२०५९ मंसिर २६ गते अख्तियारकै उजुरी छानबिन महाशाखाले बालुवाटारको जग्गा निजी नाममा गएको विषयमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो । तर, २०६० असार १८ गते उपाध्यायले प्रमुख आयुक्तको हैसियतमा उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेपछि जग्गा सरकारी नभई निजी हो भन्ने कानुनी आधार तयार भएको आरोप लगाइएको छ,’ उजुरीमा भनिएको छ ।
‘२०७६ माघ २२ मा विशेष अदालतले सुनाएको फैसलाले पनि यसमा भ्रष्टाचार भएको पुष्टि भइसकेको छ । तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको निर्णय खण्डित भएको छ । त्यसका आधार पनि उनलाई कारबाही गर्नुपर्ने होइन र ?,’ उजुरीमा भनिएको छ ।
विशेष अदालतले २०७६ माघ २२ गते ललिता निवास प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिसकेको छ । सो क्रममा योजनाकार शोभाकान्त ढकाललगायतले उपाध्यायलाई पटक–पटक भेटेको प्रमाण पनि रहेको उजुरीमा उल्लेख छ ।











प्रतिक्रिया