गाजामा युद्ध रोक्न युद्धरत पक्षमाथि अन्तर्राष्ट्रिय दबाब जरुरी

‘हमास विपिनलाई सकुशल रिहा गर’

3.57k
Shares


तेल अभिभ-काठमाडौं ।

गाजा युद्धको क्रममा पाँच जना अल जजिरा पत्रकारको हत्या भएको ताजा घटनाले अन्तर्राष्ट्रिय सञ्चार जगतलाई पुनः स्तब्ध बनाएको छ । प्रेस स्वतन्त्रता, मानवीय कानुन र युद्धकालीन आचारसंहिता उल्लंघन गर्ने यस प्रकारका हत्याप्रति अन्तर्राष्ट्रिय समुदायले कठोर प्रतिक्रिया जनाइरहेका छन् ।

तर, इजरायली सुरक्षा बल (आईडीएफ) ले अल जजिरा नेटवर्कको पत्रकारको आवरणमा रहेको हमासका नेता अनास अल–सरिफलाई आफूहरूले समाप्त गरेको बताएको छ । आईडीएफले गाजाबाट बरामद गरिएको गोप्य सूचना र कागजातले अनास हमासको आधिकारिक तलब सूचीमा भएको र हमासको एउटा सेलको नेतृत्व गर्दै इजरायली नागरिक र सेनामाथि आक्रमणको योजना बुन्ने र निर्देशन दिने कार्यमा खटिएको दाबी गर्दै भनेको छ– ‘अल जजिराका संवाददाता अनास अल–सरिफ हमासका आतंककारी थिए, जो पत्रकारको पहिचानको दुरुपयोग गरी छद्म गतिविधि चलाइरहेका थिए ।’

संयुक्त राष्ट्रिय मानवअधिकार कार्यालयले यस आक्रमणलाई ‘अन्तर्राष्ट्रिय मानवतावादी कानुनको गम्भीर उल्लंघन’ भन्दै इजरायलले सबै नागरिकका साथै पत्रकारसमेतको सम्मान र सुरक्षा गर्नैपर्छ भनी जोड दिएको छ ।
त्यस्तै, कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)ले यसलाई ‘इजरायलको पत्रकारमाथि बिनाप्रमाण आतंकवादीको आरोप लगाउने प्रवृत्ति’ को रूपमा चित्रित गर्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ– ‘पत्रकारहरू नागरिक नै हुन् र उनीहरूलाई लक्षित गर्नुहुँदैन भनेर जोड दिएको छ ।’

एमनेस्टी इन्टरनेसनललगायतले यस आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको युद्ध अपराधको संज्ञा दिँदै गहिरो दुःख व्यक्त गरेको छ । यही पृष्ठभूमिमा अर्को एउटा घटना हामी नेपालीका लागि अझ संवेदनशील छ । झन्डै दुई वर्षअघि हमासको नियन्त्रणमा पुगेका नेपाली विद्यार्थी विपिन जोशी अझै बेपत्ता छन् । २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलको किबुट्ज अलुमिममा आक्रमण गर्दा इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ कार्यरत रहेका १७ नेपाली विद्यार्थीमध्ये १० जना ज्यान गएको थियो भने छ जना घाइते भएका थिए । त्यहीबाट अर्का एक नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएका थिए । झण्डै २ वर्षपछि पनि उक्त क्षेत्र अझै उत्तिकै विभत्स छ । अलुमिमको भ्रमणको क्रममा देखिएको हृदयविदारक दृश्य जो कोहीको पनि मानसिक सन्तुलन बिथोल्न पर्याप्त थियो ।

उनै विपिनको रिहाइका लागि दबाब सिर्जना गर्न उहाँकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान फ्लाइ दुबईको विमानमार्फत इजरायल पुग्नुभएको छ । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली पत्रकारहरूसँग कुरा गर्दै आमा पद्माले आँसु पुछ्दै भन्नुभयो– ‘कृपया, मेरो छोरालाई अहिले घर फर्काउनुहोस् ।’

बहिनी पुष्पा जोशीले इजरायली जनतादेखि नेपाल सरकारसम्मले दिएको समर्थनप्रति आभार प्रकट गर्दै भन्नुभयो– ‘हामीसँग एकमात्र चाहना छ, उहाँ सुरक्षित फर्कनुहोस् । झन्डै दुई वर्ष बितिसक्यो, यो हाम्रो परिवारका लागि अत्यन्त पीडादायी समय हो ।’
गाजा क्षेत्रमा इजरायल र हमासबीच जारी युद्धमा निर्दोष प्यालेस्टिनी र पत्रकारहरूको ज्यान जानुलाई जसरी सामान्य मान्न सकिन्न । त्यसै गरी इजरायल र हमासको युद्धमा कुनै पनि साइनो नभएको नेपाली विद्यार्थीको हत्या र अपहरण पनि सामान्य होइन । यसले अन्तर्राष्ट्रिय समुदायलाई त्यति सारो चिन्तित बनाएको देखिएन । तर, हमासमा मानवीयता छ भने विपिनलाई सकुशल फर्काओस्, त्यसो गर्न सकिन्न भने कम्तीमा विपिनको अवस्था सार्वजनिक गरोस् ।

इजरायल सरकारले विपिनको परिवारलाई राष्ट्रपति, विदेशमन्त्री, संसद्का सभामुख तथा सैन्य अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताको व्यवस्था गर्ने, संयुक्त राष्ट्रसंघमा प्रत्यक्ष अपिल गराउने र सम्भावित रूपमा अमेरिकासम्म लैजाने योजना बनाएको छ । नेपालले पनि विपिनको रिहाइका लागि हमाससम्म कुरा पु¥याउन कतार, इजिप्ट, साउदी अरेबिया र इरानलगायतका राष्ट्रहरूसँग आग्रह गरिरहेको छ । तर, पनि यी हमासले उनीहरूको आपसी युद्धमा संलग्न नरहेको एउटा स्वतन्त्र राष्ट्रको आग्रह र एक निर्दोष नेपाली आमाको पुकार सुनेको छैन । जसरी गाजामा पत्रकार मारिँदा अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता र चासो देखाएका छन्, त्यसै गरी विपिनलगायत हमासको कब्जामा रहेका ५० जनाको रिहाइका लागि पनि अन्तर्राष्ट्रिय समुदायले उति नै चासो देखाएर पहल गरोस् ।

चाहे पत्रकार होस् वा निर्दोष विद्यार्थी, त्यति मात्रै होइन, युद्धको मोर्चामा नभएका कुनै पनि निर्दोष इजरायली तथा प्यालेस्टिनी नागरिकको हत्या अमानवीय अपराध नै हो । त्यसमाथि आफ्नो शत्रुको मनोबल गिराउने नाममा बन्धकमा रहेका महिलाहरूको बलात्कार गरी निर्ममतापूर्वक हत्या गर्नु र बन्धकहरूमाथि क्रुरतापूर्वक व्यवहार गर्नुलाई कुनै पनि सभ्य समाजले क्षमा गर्न सक्दैन ।

त्यसैले यस्ता अमानवीय अपराधविरुद्ध अन्तर्राष्ट्रिय समुदायले संयुक्त दबाब सिर्जना गरेर मात्र न्याय सुनिश्चित गर्न सकिने हुँदा इजरायलमाथि मात्रै होइन, हमासमाथि पनि दबाब सिर्जना गरी न्यायको प्रत्याभूति दिलाउने प्रयास गर्नुपर्छ । मध्यपूर्वको शान्तिका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र भूमिका निभाउन जरुरी छ ।