काठमाडौं।
लामो समयदेखि रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति तोकेका हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरत खत्री, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकाया उपकुलपति नियुक्त भएका छन्।
यी प्रतिष्ठानमा उपकुलपति पद लामो समयदेखि रिक्त रहेकाले शैक्षिक, प्रशासनिक तथा नीतिगत निर्णयमा समस्या आइरहेको थियो। नयाँ नेतृत्वले संस्थागत सुधार, चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव, पूर्वाधार विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि सरकारको निर्णयअनुसार असार ४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन गरिएको थियो। उक्त कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए। समितिले सिफारिस गरेको नाममा प्रधानमन्त्री ओलीले नियुक्ति गरेका हुन्।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले यी नियुक्तिलाई ढिलो भए पनि सकारात्मक कदम भनेका छन्। उनका अनुसार प्रतिष्ठानको नेतृत्वमा योग्य र अनुभवी व्यक्ति आउँदा स्वास्थ्य शिक्षा र सेवा दुवैको गुणस्तरमा सुधार हुने अपेक्षा छ।











प्रतिक्रिया