रविलाई थुनामै राख्ने अदालतको आदेश

1.41k
Shares

बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रूपन्देही कारागारमा हुनुहुन्छ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेको थुनामुक्त मागसम्बन्धी निवेदनमाथिको बहस सोमबार भएको हो ।

यसअघि मंगलवार र बुधबार आफैंले स्थगित गराएको सुनुवाइ सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा पेशी चढेको थियो । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिनुभएको थियो । उहाँको निवेदनउपर बहस सोमबार नै सकिएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताउनुभयो ।

लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपियाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गर्नुभएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । लामिछाने चैत २२ गते नै काठमाडौंबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा हुनुहुन्छ ।