मुलुकलाई सही दिशातर्फ डोर्‍याउने दायित्व युवाहरूको काँधमा छ : सञ्चार मन्त्री गुरुङ 


ललितपुर। 

 सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशातर्फ डोर्याउन युवाहरूको महत्वपुर्ण दायित्व हुने बताएका छन्  । 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था संजाल (आयोन) नेपालको आयोजनामा आज सोमबार ललितपुरमा भएको कार्यक्रममा मन्तव्य राख्दै  मन्त्री गुरुङले समाज रुपान्तरणमा युवा नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे । 

उनले भने, “दिवसको छलफल मात्रै ठूलो कुरा हैन, प्रतिबद्धता र कार्यान्वयन महत्त्वपूर्ण हो, युवाहरुलाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिएका छौँ ।”  

नेपाली युवाहरूलाई विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्नेगरी कानूनी प्रवन्ध गरेको मन्त्री गुरुङले बताए ।  

उनले आजको सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै नेपालको विकासमा युवाहरूको सहभागिता महत्त्वपूर्ण छ भन्दै युवाहरूलाई उत्प्रेरित गरे । “सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई दिगो विकास लक्ष्यसंग जोडेर कसरी कार्यान्वयन गर्ने र युवाहरूको भूमिका के हुन सक्छ भनेर आज छलफल होस्, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय र आन्तरिक कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनु आवश्यक छ।“ उनले भने । 

युवाहरुमा नेपाल सरकारको सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाहरूको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्ने नीति मन्त्रालयबाट बनाइराखेका छौँ भने । 

“राष्ट्रिय युवा नीति छलफलको क्रममा छ,संसदको समितिमा पुगेको छ, १८ देखि ३५ बर्ससम्मका लागि युवा मान्ने नीति बन्दै छ। चाँडोभन्दा चाँडो सूचना प्रविधिसंग जोडिएका ऐनहरु बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नुस्, आर्थिक समृद्धि हासिल गर्नुस्।“ उनले भने । 

मन्त्री गुरुङले नेपालले अन्तर्राष्ट्रिय रुपमा निर्धारण गरेको विकास लक्ष्य प्राप्त गर्न युवाको भूमिका महत्त्वपूर्ण रहेको उनले सुनाए। 

“डिजिटल नेपाललाई जोड्ने र पर्यटन क्षेत्रमा युवा र कृतिम बौद्धिकताको भूमिका, सूचना प्रविधि क्षेत्रको भूमिकाका बारेमा छलफल चलिरहेको छ, अवको समय तपाईंको डक्टर पनि कृतिम बौद्धिकता हुनसक्छ, मेडिकल विज्ञानमा कृतिम बौद्धिकताको भूमिका छ, अबको युग कृतिम बौद्धिकताको युग हो, सञ्चार मन्त्रालयले यसको नीति बनाएको छ, नियमावली बनाउने चरणमा छौँ, डिजिटल नेपालको पोर्टल सञ्चालन गर्ने तयारीमा छौँ, फाइभ जी यस वर्ष लागू गर्ने तयारीमा छौँ ।“ उनले भने। 

मन्त्री गुरुङले वर्तमान युगमा इन्टरनेटमा पहुँच पनि अनिवार्य आवश्यकता बनिसकेको छ भन्दै प्रविधिको पहुँचमा रहेको असमानता हटाउन कुनै पनि घर, समुदायलाई छोड्नुहुँदैन भनेर लागिरहेका छौँ भने। 

“ग्रामीण क्षेत्रमा डिजिटल पहुँचको चुनौती छ, कृतिम बौद्धिकताले यति धेरै पहुँच अभिबृद्धि गर्दैगर्दा गरिवीहरुमा पहुँच पुग्न सकेको छैन, यस वर्ष प्रत्येक नागरिकमा फोरजीको पहुँच पुर्यानउने छौँ, नेपालको आफ्नै स्याटेलाइन बनाउने कुरामा ध्यान दिएका छौँ, भूउपग्रह नीति यसै बर्ष लागू गर्ने तयारीमा छौँ।“ उनले भने। 

उनले वडावडा तहसम्म फाइबर सिस्टम पुर्यालउन सक्यौं भने गुणस्तरीय इन्टरनेट दिन सक्छौं भन्दै जनतालाई सेवा प्रवाहमा सहज बनाउने, भ्रष्टाचार न्युनिकरण गर्ने कुरालाई ध्यान दिएर डिजिटलमैत्री प्रशासनलाई ध्यान दिएका छौँ भन्ने जानकारी गराए । 

“प्रत्येक प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारीमा छौँ, सीप विकास गर्ने, नयाँनयाँ प्रविधिहरुको पहिचान गर्ने कुरालाई ध्यान दिएर काम अगाडि बढाएका छौँ, तथ्यांक केन्द्रको स्थापना महत्त्वपूर्ण छ, विद्युतले संसारको अर्थतन्त्रलाई परिवर्तन गरिदिएको छ, नेपाल सूचना प्रविधि क्षेत्रको हव हुन सक्छ, संसारभरका सूचना प्रविधि क्षेत्रका अनुसन्धानकर्ताहरूको केन्द्र नेपाल हुन सक्छ, समाजको परिवर्तनका लागि नेतृत्व गर्ने व्यक्ति नेता हो, युवाले समृद्ध डिजिटल नेपालका लागि नेतृत्व गर्न सक्नुपर्छ “ उनले भने ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयनका तहसम्म समावेश गराउन ध्यान दिंदै युवामैत्री वर्तमान भविष्यका लागि उद्यमशीलता र रोजगारीसंग जोडका लागि ध्यान दिएर लाग्नुपर्छ भन्नेमा जोड दिए । 

आयोनका पूर्वकार्यकारी सदस्य तिलोतमा पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा युवाहरूलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न ध्यान दिएर प्राथमिकताका आधारमा काम गरिनुपर्नेमा जोड दिए। 

सन् २००५ मा स्थापना भएको आयोन सातवटै प्रदेशमा रहेका विभिन्न ९२ वटा युवा संस्थाहरुको छाता संस्था संजाल हो। यस संस्थाले स्थापनाकाल देखि युवा क्षमता अभिवृद्धि, स्वयंसेवक परिचालन, विपद् व्यवस्थापन, युवाका सवालमा पैरवी, नीति निर्माण तहमा युवाको सहभागिता तथा समग्र राष्ट्र निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगको साझेदारी र समन्वयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको जानकारी गराइएको छ । 

संयुक्त राष्ट्रसंघको सन् १९९९ को साधारण सभाबाट हरेक वर्ष १२ अगष्ट लाई “अन्तर्राष्ट्रिय युवा दिवस“ का रुपमा मनाउने निर्णय भए अनुसार आयोनले “दिगो विकास लक्ष्य र त्यसपछिका लागि स्थानीय युवाको नेतृत्व“ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरेको हो ।