प्रधानमन्त्री ओलीबाट नाडा अटो शो २०२५ उद्घाटन हुने


काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

नाडाले अटो शोमा प्रमुख अतिथिको रूपमा उपस्थित भई उद्घाटन गर्न आग्रह गरेको निवेदनलाई प्रधानमन्त्री ओलीले स्वीकृति दिएका हुन्। साउन २५ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेर शोको तयारीबारे जानकारी गराउँदै उद्घाटनको अनुरोध गरेको थियो।

नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। यसपटकको शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्ड सहभागी हुने जनाइएको छ। प्रदर्शनीमा विभिन्न चारपांग्रे, दुईपांग्रे, इलेक्ट्रिक, हाइब्रिड तथा अत्याधुनिक स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ।

कार्यक्रमको विशेष आकर्षणमा विन्टेज मोटर शो, युनट्री रोबट, दीपल इभोटल (इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्याण्डिङ एयरक्राफ्ट) लगायतका नयाँ प्रविधि र डिजाइनहरू रहनेछन्। नाडाका अनुसार यो शोले नेपालमा मोटर उद्योग, नवप्रवर्तन र प्रविधिको प्रचार–प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।