काभ्रे ।
धुलिखेल नगरपालिकाले धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य बीमा गरेका सबै नागरिकहरुका लागि अस्पताल परिसरबाटै प्रथम सेवा विन्दुका रुपमा सेवा प्रारम्भ गरेको छ । उक्त सेवाले स्वास्थ्य बीमा गरेका आम नागरिकहरुका लागि सहज हुने नगरपालिका र अस्पतालले जानकारी दिएको छ । रिफरलका नाममा हैरानी पाएका नागरिकहरुलाई धुलिखेल नगरपालिकाले सहज सेवा उपलब्ध गराएकोमा सेवाग्राही खुशी देखिन्छन् ।
स्वास्थ्य बीमा बोर्डले यस अघि अधिकांश नागरिकहरुलाई प्रथम सेवा विन्दु नै धुलिखेल अस्पताल राखेर बीमा गराएको थियो । स्थानीय तह र नागरिकहरु समेतलाई कुनै सूचना समेत नदिई साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले एक्कासी सम्झौता विपरित प्रथम सेवा विन्दु परिवर्तन गरिदिए पछि नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित जस्तै भएका थिए ।
‘नागरिकहरुले पाएको हैरानीलाई मध्यनजर गर्दै शुरुका केहि दिन अस्पताललाई नै प्रथम सेवा विन्दु बनाउने गरी आवश्यक पहल गर्यौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘प्राथमिक स्वास्थ्य केन्द्रमा अपर्याप्त रहेको भौतिक पूर्वाधार तथा जनशक्तिको ब्यवस्थापन लगायतका कार्यहरु थिएनन् ।’ धुलिखेल अस्पतालसँगको समन्वयमा नागरिकहरुलाई सहज र सरल सेवा दिने उदेश्यले प्राथमिक स्वास्थ्य केन्द्रबाट दिने प्रथम सेवा विन्दुको उपचार धुलिखेल अस्पताल परिसरबाट नै दिने ब्यवस्था मिलाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
धुलिखेल अस्पताल परिसरमा भएको उक्त सेवा सबै नागरिकहरुका लागि हुने नगर प्रमुख ब्याञ्जुले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापन पत्र बुझाएको धुलिखेल नगरपालिकाले थप सहकार्य र समन्वयका लागि संघ र प्रदेश सरकारले समेत प्रतिवद्धता ब्यक्त गरेको नगर प्रमुख ब्याञ्जुले बताए । पहिलो चरणमा विहान १० बजे देखि दिउसो ३ बजेसम्म प्रारम्भ गरिएको सेवा आवश्यकताका आधारमा थप जनशक्ति समेतको ब्यवस्थापनमा परिवर्तन गर्न सकिने गरी तयारी गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए ।
धुलिखेल अस्पतालबाट बार्षिक ३ लाख भन्दा धेरै विरामीहरुले बीमा बापतको स्वास्थ्य सेवा लिदै आएका छन् । धुलिखेल नगरपालिकाले उपलब्ध गराएको उक्त सेवाबाट स्वास्थ्य बीमा गरेका सबै नागरिकहरु लाभान्वित हुन सक्ने अस्पतालले बताएको छ । यस अघि पनौतीका दुई वटा स्वास्थ्य केन्द्र मार्फत रिफरल सेवा उपलब्ध गराउँदै आएको थियो । भकुण्डेमा रहेको मेथिन्कोट अस्पतालले पनि रिफरल सेवा उपलब्ध गराएको थियो । पाँचखाल र धुलिखेलले सेवा शुरु गरेका थिएनन् । पाँचखालले अझै सेवा शुरु गर्ने तयारी गरेको छैन ।












प्रतिक्रिया