धनगढी ।
शुक्रवार साँझ ४९ जना घाइते र एक जनाको ज्यान जाने गरेर भएको हिंसात्मक घटनापछि शनिवारदेखि कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा आइतबार अपराह्नदेखि सामान्य बन्दै गएको छ । राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा कैलाली कारागारका जेलर जालन्धर भुसालको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीको टोलीले कारागार प्रवेश गरी अनुगमन गरेको छ ।
अपराह्न ४ः४५ बजेदेखि ६ बजेसम्म कारागार अनुगमन गरिएको जेलर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार कैलाली कारागार अहिले सामान्य बन्दै गएको छ । कैदीबन्दीले लगाएको तालाको चाबी आफूलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कारागारभित्र सामान्य अवस्था रहेको बताइएको छ । कैदीबन्दीहरूले आफूहरूलाई शान्त तरिकाले बस्न पाउनुपर्ने माग गरेका थिए । शुक्रवार भत्काइएको पर्खाल शनिवार नै कैदीबन्दीहरू आफैले बनाएका थिए । कारागारभित्र रहेका कैदीबन्दीहरूको गणनासमेत गरिएको छ ।
दुई समूहबीचको झडपका कारण शनिवारदेखि तनाबग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।
गम्भीर घाइते भएका गोदावरीका आयुष भट्टलाई शनिवार साँझ काठमाडौं रिफर गरिएको थियो भने अर्का घाइते मोहन्याल–३ का करण सलामीलाई आइतबार रिफर गरिएको छ । उनको नसा काटिएकोले रगत नरोकिएपछि रिफर गर्नुपरेको सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जानकारी दिनुभयो ।
घटनापछि शनिवार बिहान प्रमुख जिल्ला अधिकारीसहित चारै सुरक्षा निकायका प्रमुखहरू घटनास्थल निरीक्षणका लागि कारागार पुगेका थिए, तर कैदीबन्दीहरूले भित्र पस्न नदिएपछि जिल्ला प्रशासन कार्यालयमा कैलालीमा सुरक्षा समितिको बैठक बसी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन शुरू गरेको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।
१ सय ५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७ सय कैदीबन्दी छन् । कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथामलगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए । ५ सय ९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो । स्थानीय प्रशासनले पत्रको बेवास्ता गर्दा हिंसात्मक घटना भएको स्थानीयको आरोप छ ।











प्रतिक्रिया