जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ।

पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार भइरहेको शवबाट हड्डी निकालेर तान्त्रिकलाई दिएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ परेका मध्ये गणेश ढकाल दाहसंस्कार कार्यमा संलग्न थिए भने अर्का उनीसँगै सहयोग गरिरहेका व्यक्ति हुन्।

उनका अनुसार गत शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव दाहसंस्कार भइरहेको क्रममा हड्डी निकालेर तान्त्रिकलाई दिएको भन्ने मृतकका परिवारको आरोपसहितको सूचना प्राप्तभएपछि दुवै जनालाई पक्राउ गरिएको हो।

हाल उनीहरूलाई प्रहरी वृत्त गौशलामा राखी सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।