धनगढी।
शुक्रवार साँझ ४९जना घाईते र एक जनाको ज्यान जाने गरेर भएको हिँसात्मक घटनापछि शनिवारदेखि कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारमा आइतवार अपरान्हदेखि समान्य बन्दै गएको छ । राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा कैलाली कारागारका जेलर जालन्धर भुसालको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीको टोलीले कारागार प्रवेश गरि अनुगमन गरेको छ ।
अपरान्ह ४ः४५ बजेदेखि ६ बजेसम्म कारागार अनुगमन गरिएको जेलर भुषालले जानकारी दिए । उनका अनुसार कैलाली कारागार अहिले सामान्य बन्दै गएको छ । कैदी बन्दीले लगाएको तालाको चाबी आफूलाई हस्तान्तरण गरेको जेलर भुषालले बताए । अनुगमनका क्रममा कारागार भित्र सामान्य अवस्था रहेको बताइएको छ । कैदीबन्दीहरुले आफूहरुलाई शान्त तरिकाले बस्न पाउनुपर्ने माग गरेका थिए । शुक्रवार भत्काइएको पर्खाल शनिवारनै कैदीबन्दीहरु आफैले बनाएका थिए । कारागार भित्र रहेका कैदीबन्दीहरुको गणना समेत गरिएको छ ।
दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् ।कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।
गम्भीर घाइते भएका गोदावरीका आयुष भट्टलाई शनिवार साँझ काठमाण्डौ रिफर गरिएको थियो भने अर्का घाईते मोहन्याल ३ का करण सलामीलाई आइतवार रिफर गरिएको छ । उनको नसा काटिएकोले रगत नरोकिएपछि रिफर गर्नुपरेको सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डा .हेमराज पाण्डेले जानकारी दिए ।
घटनापछि शनिवार बिहान प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरू घटनास्थल निरीक्षणका लागि कारागार पुगेका थिए, तर कैदीबन्दीहरूले भित्र पस्न नदिएपछि जिल्ला प्रशासन कार्यालयमा कैलालीमा सुरक्षा समितिको बैठक बसी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन शुरु गरेको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
१५० जनाको क्षमता रहेको कैलाली कारागारमा हाल करिब ७०० कैदीबन्दी छन्। कैदीबन्दीहरूले कारागारको आन्तरिक प्रशासन, व्यवस्थापन सुधार, अवैध आर्थिक चलखेल रोकथाम लगायतका मागसहित साउन १२ गते मानव अधिकार आयोगलाई पत्र बुझाएका थिए । ५९० कैदीबन्दीको हस्ताक्षरसहितको उक्त पत्रपछि आयोगले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कैलाली कारागारलाई सचेत गराउँदै पत्र पठाएको थियो । स्थानीय प्रशासनले पत्रको वेवास्था गर्दा हिँसात्मक घटना भएको स्थानीय बासिन्दाहरुको आरोप छ ।











प्रतिक्रिया