कारागार झडपमा १ को मृत्यु, ४९ घाइते

सहायक प्रजिअको संयोजकत्वमा छानविन समिति

1.97k
Shares


धनगढी ।

शुक्रबार राती कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले दिएको जानकारीअनुसार कैदीबन्दीबीच भएको झडपमा धनगढी उपमहानगरपलिका–४ का भरत चौधरीको मृत्यु भएको छ । चौधरी लागुऔषध मुद्दामा कारागारमा थिए ।

झडपमा ४९ जना घाइते भएका थिए । घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जानकारी दिनुभयो । घाइतेमध्ये कैलालीको गोदावरी–२ का आयुष भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । १ सय ५० जनाको क्षमता भएको यो कारागारमा करिब ७ सय जना कैदीबन्दी रहेका छन् ।

प्रहरीका अनुसार ब्लक ‘ए’मा रहेका कैदीबन्दीको समूहले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक ‘ए’बाट ‘बी’मा प्रवेश गर्न वर्षौं पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाका सामानले फुटाएर उनीहरू ब्लक ‘बी’मा प्रवेश गरेका थिए । ब्लक ‘बी’मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक ‘बी’मा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यस अघि असार २८ गते कैदी बन्दीबीच हिंसात्मक झडप हुँदा नाइके खगेन्द्र बोगटी गम्भीर घाइेत भएका थिए । जेलर वसन्त खत्रीले मनोमानी गरेको भन्दै विरोधमा उत्रिएका कैदीबन्दीले जेलरविरुद्धमा नाराजुलुस गरेका थिए । साउन २२ गते राति भएको हिंसात्मक झडपपछि कैलाली कारागार कैदीबन्दीले नियन्त्रणमा लिएका छन् । घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी प्रमुख एसपी बालनरसिंह राणा कारागार जान सक्ने अवस्था थिएन ।

कारागार स्थलगत निरीक्षण गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको कार्यकक्षमा सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । अन्य सदस्यहरुमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो । उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

यस्तै शुक्रबार राती भएको कैलाली कारागारमा भएको घटनाको मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले गम्भीर लापरबाही भएको औंल्याएको छ । मानवअधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ ।

मानवअधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताउनुभयो । निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख बिदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमताभन्दा बढी कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताउनुभयो । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ ।