कैलाली कारागारमा पुनः झडप, एक कैदीको मृत्यु, ४४ उपचारमा


धनगढी।

धनगढीस्थित कैलाली कारागार पुनः तनावपूर्ण घटनाबाट थरथराएको छ। शुक्रबार राति कैदीबन्दीबीच भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। घाइतेहरूको सेती प्रादेशिक अस्पताल नजिकै कोरानाकालमा निर्माण भएको विशेष अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, झडपपछि परिस्थिति नियन्त्रणमा लिन ५० जना अतिरिक्त सुरक्षाकर्मी कारागार परिसरमा खटाइएको छ। “कैदीबन्दीका आफन्त भेट्न आउनेको भीड भएकाले भेटघाट व्यवस्थापनमा पनि प्रहरी सतर्क छ,” उनले बताए।

कारागारभित्र ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीबन्दीबीच विवाद हुँदा ढुङ्गामुढा र कुटाकुटसम्म पुगेको घटनापछि, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

यो पहिलो घटना भने होइन। बिहीबार राति पनि कैदीबन्दीबीच आपसी हानाहान भएको थियो, जसलाई तत्काल प्रहरी र प्रशासनको टोलीले सम्झाइबुझाई गरेर शान्त पारेको थियो। यसअघि असार २८ गते पनि यस्तै झडप भएको थियो।

कैलाली कारागारको क्षमता १५० जनाको मात्र भए पनि हाल यहाँ ६८० जना कैदीबन्दी राखिएका छन्। अधिकारीहरूका अनुसार, कैदीहरूको सरुवासम्बन्धी मतभेद नै बारम्बारको विवादको मुख्य कारण हो।