विचरण गर्दै नवलपरासीको गिद्ध कैलाली पुग्यो, झरी र थकानले बिरामी गिद्धको कैलालीमै उपचार

28.29k
Shares

नवलपरासी। 

पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक  विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेको छ ।

वर्षादकाे समयमा लामाे दुरीकाे बिचरणमा रहकाे सानाे खैराे जातकाे अर्ध वयस्क गिद्ध बिरामी परेपछि कैलालीको सब डिभिजन वन पहलमानपुरले  लम्किचुहा स्थित लालीगुराँस सामुदायिक वनबाट  उद्धार गरेकाे हो ।

सामुदायिक वनमा उड्न हिँड्न नसक्ने अवस्थाको बिरामी गिद्ध देखेपछि वन पदाधिकारीहरूले डिभिजनल वन कार्यालय कैलालीलाई खवर गरेका थिए ।

गत असार २७ गते नवलपुरबाट उडेको उक्त गिद्ध सुरूका ५/७ दिन कपिलवस्तुकाे गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको सोही गिद्धको शरीरमा जडित रेडियाे कलरले देखाएको थियो ।

पूर्वी नवलपरासी स्थित पंक्षी संरक्षण संघ नेपालका फिल्ड अधिकृत ईश्वरी चाैधरीका अनुसार नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुराँबाट विभिन्न जातका रेडियाे कलर जडित १ सय ६९  गिद्धको जिपिएस ट्य्राकिङ्ग गरि गतिविधि अध्ययन हुँदै आएकाे छ ।

कैलालीमा फेला परेकाे गिद्धको खुट्टामा जडित जे १६ नम्बरकाे ट्यागका आधारमा उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेकाे  पुष्टि भएकाे हो ।

कैलाली स्थित बिसिएन परियाेजना फिल्ड अधिकृत हिरूलाल डगाैराका अनुसार उक्त गिद्ध कपिलवस्तुकाे गैडहवाबाट विचरणका लागि भारतको बहराइच,लखिमपुर,टिकुलिया,सिमावर्ती क्षेत्र भजनी हुदै मसुरिया आउने क्रममा लालिगुरास वनमा बिरामी परेकाे हो ।

यही साउन १९ गते उक्त वनमा बिरामी अवस्थामा  फेला परेकाे गिद्धको बर्दिया राष्ट्रिय निकुञ्ज स्थित प्रकृति संरक्षण काेषका भेटरीनरी चिकित्सक विकल्प कार्की सहितकाे टाेली आएर उपचार भईरहेकाे फिल्ड अधिकृत डगाैराले बताए ।

डगाैराले भने चिकित्सकका अनुसार वर्षाद सहितकाे प्रतिकुल माैषम, आफ्नाे झुण्डबाट एक्लिएकाे अवस्था र लामाे उडानले थकित गिद्धमा आहार,पानी रगतकाे कमी बाहेक अन्य बाह्य चोट पटक नरहेको पाइएको छ ।

उपचारबाट सुधार उन्मुख देखिएकाे उक्त गिद्धलाई पूर्ण स्वास्थ्य लाभ गराई प्राकृतिक वातावरणमा छाडिने बताइएको छ ।

नेपाल पंक्षी संरक्षण संघका पदाधिकारी डगाैराका अनुसार पूर्ण स्वस्थता पछि छाडिने उक्त गिद्ध पुन आफ्नै वासस्थान पनि फर्कन सक्ने वा वयस्क भएकाले करिब ४०/५० किमी पश्चिममा रहेको शुक्लाफाँट वनमा नयाँ जाेडी खोजेर यतै रहन सक्ने दुवै सम्भावना बराबर रहेको बताउँछन् ।

नवलपरासी पूर्व स्थित जटायु रेष्टुराँकाे एक तथ्यांक अनुसार विगत केही वर्ष अघि यहीँकाे एक डंगर गिद्धले भारतको पश्चिमी क्षेत्र सहित पाकिस्तान सम्म विचरणका लागि उडान गरेको थियो ।