रसुवाको आमाछोदिङमो (पार्वती कुण्ड) मा जनैपूर्णिमा मेला: व्यवस्थापनका सम्पूर्ण तयारी पूरा

धार्मिक र सांस्कृतिक कार्यक्रमसँगै ठूलो संख्यामा दर्शनार्थीको उपस्थिती हुने अनुमान

3.85k
Shares

रसुवा।

हिमाली जिल्ला रसुवाको उत्तरी भेगस्थित आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पार्वती कुण्डमा यस वर्षको जनैपूर्णिमा मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

वडा अध्यक्ष सुरेन्द्र लामाका अनुसार यस वर्ष जनैपूर्णिमा साउन २४ गते परेको छ र मेलाको व्यवस्थापनका लागि वडा स्तरबाट विशेष तयारी गरिएको छ। समुद्री सतहबाट करिब २,५५० मिटर उचाइमा रहेको पार्वती कुण्ड रसुवाको “कालो गाउँ” (Black Village) को उच्च स्थानमा अवस्थित छ, जसलाई धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिन्छ।

मेलाको अवसरमा छिमेकी जिल्ला नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायत काठमाडौं उपत्यकाबाट पनि ठूलो संख्यामा भक्तजन आउने गर्छन्। एकादशीदेखि जनैपूर्णिमासम्म यहाँ लोक–मौलिक गीत, तामाङ सेलो, सेसे बोम्बो, मेन्दोमाया र फाप्परे गीतको धुनमा नाचगान हुने परम्परा छ।

सडक सञ्जाल राम्रो भएकाले साना–ठूला सवारी साधनमार्फत जुनसुकै समयमा कुण्डसम्म पुग्न सकिन्छ। भक्तजनहरू कुण्डमा ताजा फलफूल र दूध चढाउने गर्छन्। विशेषगरी यहाँको भगवानलाई प्रत्येक वर्ष पाठपूजा गरेमा सुख–शान्ति र सन्तान प्राप्त हुने धार्मिक विश्वास छ। गोसाइँकुण्ड दर्शनपछि पार्वती कुण्डको दर्शन नगरेसम्म मनोकामना पूरा नहुने मान्यता रहेको छ।

स्थानीय होटेल र होमस्टेमा बस्ने सुविधा उपलब्ध छ, जसले यात्रुलाई खानपान र आवासमा समस्या नपर्ने अध्यक्ष लामाले बताए। मेलाको अवसरमा पर्यटन प्रवर्द्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिनेछ। मेलाको सरसफाइ र व्यवस्थापनमा स्थानीय युवाहरू सक्रिय रहने जनाइएको छ।