चक्रे मिलनसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

गुण्डा नाइकेका रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनाको हिरासत अवधि दोस्रोपटक पनि थपिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई थप पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेसनमार्फत उनीहरू पक्राउ परेका थिए। सो क्रममा प्रहरीले ४७ जनालाई नियन्त्रणमा लिएको भए पनि २८ जनालाई पछि छाडिएको थियो। बाँकी १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान जारी छ।

हिरासतमा रहेका मध्ये चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।

प्रहरीका अनुसार मध्यरातमा महाराजगञ्जस्थित होटल साम्बालामा चक्रेको जन्मदिन पार्टी चलिरहेको बेला होहल्ला भएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो।