सप्तरीको राजगढमा मृत्यु प्रकरणको अनुसन्धान सुरु, मानव अधिकार आयोगको टोली घटनास्थलतर्फ


:जनकपुरधाम।

राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधामले सप्तरीको राजगढ गाउँपालिकामा भएको मृत्यु घटनाको अनुसन्धान सुरु गरेको छ।
आयोगका अनुसार मंगलबार राति राजगढ गाउँपालिका–२ कमलपुरमा भारततर्फ भइरहेको मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा बल प्रयोग हुँदा स्थानीय लालु प्रसाद यादवको मृत्यु भएको थियो।

यो घटनापछि मृतकका आफन्त र स्थानीयवासीले आपत्ति जनाउँदै “बाँच्न पाउने मानव अधिकारको उल्लङ्घन” भएको आरोप लगाएका छन्।
आयोगको मधेश प्रदेश कार्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आजै एक अधिकृतस्तरीय टोली अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ।

आयोगका सहसचिव तथा कार्यालय प्रमुख बुद्धनारायण साहनीले घटनासम्बन्धी अनुसन्धानमा सहयोग पुर्‍याउन सबै पक्षलाई अनुरोध गरेका छन्।