उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ८ मा गएको बुधवार राति जन्म दिनको भोज खाँदा ४६ जना गाउँले बिरामी भएका छन्।
त्रियुगा नगरपालिका वडा नं ८ का वडा सदस्य इन्द्रराज कार्कीले ८ नं वडा कै राजावास गाउँका दीपेन्द्र कार्की र सम्झना कार्कीको छोरा ५ वर्षको उत्सव कार्कीको बुधवार राति जन्म दिन मनाउने क्रममा छरछिमेक तथा आफन्तहरुलाई निमन्त्रणा गरेका थिए । निम्तालुहरुलाई प्रसादका रुपमा सेलरोटी र अचार खान दिएको र बिहिबारदेखि प्रसाद खानेहरु बिरामी भै उपचारकालागि अस्पताल भर्ना गरेको बताए । । सो प्रसाद खानेहरु मध्ये केही गाउँ घरमै उपचार गराई रहेको र आफूले ४६ जना बिरामी भएको जानकारी पाएको वडा सदस्य कार्कीले बताए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जन्म दिनको प्रसाद खाएर त्रियुगा नपाको वडा नं ८ मा मानिसहरु बिरामी भएको खबर पाएपछि आफूले तत्कालै उदयपुर जिल्ला अस्पताल गाईघाटमा उपचारकालगि अस्पताल प्रशासनसँग समन्वय गरेको र उपचारपछि बिहिबिार राती नै केही घर फर्किएको बताए ।

वडा सदस्य कार्कीले जन्म दिनको भोज खाएर ठूलो संख्यामा आफ्नै वडाबासी बिरामी भएपछि उपचारमा कुनै कमी नहोस् भनेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई फोन गरेर उदयपुरबाट रेफर गर्नु पर्ने अवस्था भएका खण्डमा सबै व्यवस्था मिलाउन सम्बन्धित निकायमा निर्देशन दिन अनुरोध गरेको र प्रसाद खानेहरु मध्ये कोही सिकिस्त भएमा विराटनगर लैजाने तयारीका साथ र भविष्यमा आइपर्ने समस्याहरु सबै विचार गरेर बिरामीहरुलाई रातारात उदयपुर जिल्ला अस्पतालमा लगिएको बताए ।
यस विषयमा उदयपुर जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश कुमार पाण्डेले जन्म दिनको प्रसाद खाएर अस्पतालमा २६ जना उपचारकालागि आएको र हाल चारजना अझै उपचार रहेकोमा अन्य उपचारपछि अस्पतालले डिस्चार्ज गरेको बताए ।
हाल अस्पतालमा उपचार गराइरहेका मध्ये त्रियुगा नपा ८ नमुना टोलका १२ वर्षका महेश मगरले आफू जन्म दिनको भोज खान नगएको तर घरका अरु सदस्य गएकोले उहाँहरुले ल्याएको प्रसाद सेलरोटी र अचार खाएपछि पखाला लागेको, टाउको दुखेको, ज्वरो आएकोले उपचारकालागि अस्पताल खाएको बताए ।
अर्का सोही वडाका १३ वर्षका मिसन भट्टराई पनि प्रसाद खान गएकोमा बिरामी भएर अस्पतालमा उपचार गराई रहेका छन् । उनले आफू निम्तो मान्न दीपेन्द्र कार्कीको छोरा उत्सव कार्कीको जन्म दिन मनाउन गएको र प्रसादका रुपमा सेल रोटी अचार खाएको र बिहिबारबाट सञ्चो नभएपछि उपचारकालागि अस्पताल आएको बताए ।

त्रियुगा नपा ८ की ५७ वर्षकी कल्पना घिमिरेले पनि सोही घरमा उत्सव कार्कीको जन्म दिनको शुभकामना दिन गएकोमा सेल रोटी अचार प्रसाद खाएपछि बिरामी भएको बताइन । उनले आफूलाई पखाला लागेको, ज्वरो आएको, बान्ता हुने वाकवाकी लाग्ने गरेकोले अस्पतालमा उपचाररत रहेको बताइन ।
बिरामी आमाको उपचारमा कुरुवा बसेका कल्पनाका छोरा सन्तोष घिमिरेले कार्की परिवारले छोराको जन्म दिन मनाउन आफन्त छरछिमेकी धेरै जनालाई बोलाएको र भिडभाडमा भएकोले प्रसाद तथा अन्य खानेकुरा बनाउँदा सरसफाइमा ध्यान नदिएको र रोटी पकाउने पिठोमा माउसुली पनि मुछिएको हुनसक्ने आकलन गर्दै असावधानी र अन्जान बस यस्तो घटना भएको बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक केदारमान दोङले जन्मदिनको प्रसाद खाएर २७ जना बिरामी भै उपचारकालागि अस्पतालमा आएको र अन्य गाउँ घरमै जराबुटाको औषधी आएर बसेको बताए ।

जन्म दिनको भोज खाएर बिरामी हुनेमा पुरुष ३ जना, महिला ११ जना,बालक ५ जना, बालिका ८ जना रहेको सूचना अधिकारी तथा प्रनाउ दोङले बताए ।
उनले गाउँ घरमा बिरामी हुनेहरुमा आफू मात्र बिरामी भएको ठान्ने तर अरु बिरामी भएको चाल नपाउने हुँदा र अस्पतालमा उपचारकालागि आएकाहरुको मात्र प्रहरीसँग विवरण रहेको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको बताए ।











प्रतिक्रिया