हेटौंडा ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते मंगलबार नै विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले भदौ १८ भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । ३० दिनभित्र मुख्यमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।तर, उनले २३ दिनअघि नै विश्वासको मत लिन लागेका हुन् । उनले प्रदेशसभामार्फत् विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशमा कुल १ सय १० सांसद्मध्ये कांग्रेस र एमाले गठबन्धनको सरकारमा मुख्यमन्त्री बानियाँले ६४ सांसद्को समर्थन प्राप्त गरेका छन् । त्यसैले, त्यति बेलासम्म कुनै राजनीतिक उथलपुथल नभए विश्वासको मत निश्चित छ ।
मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने तयारी गरेका छन् । एमालेबाट मन्त्रीहरु टुंगो लागिसके पनि नेपाली कांग्रेसका उल्लेख्य सांसद्को मन्त्री बन्ने आकांक्षा रहेकाले विश्वासको मतपछिमात्र मन्त्रीहरुको टुंगो लगाउने तयारी गरिएको छ । साउन २० मा सत्ता सम्हालेका बानियाँले साउन २२ मा एक बिनाविभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।
कांग्रेसको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँलाई सुम्पिएको छ । मुख्यमन्त्री बानियाँले भने–विश्वासको मत लिएर सरकारको कामलाई तीव्रता दिने तयारीमा छु ।
बागमती प्रदेशमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सरकारका सहयात्री नेकपा एमालेले नयाँ सरकार गठनलगत्तै नयाँ सचेतकहरु नियुक्त गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादेलाई मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले नियुक्त गरेका हुन्। संसदीय दलको रिक्त मुख्य सचेतकमा मुख्यमन्त्री बानियाँले काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद् तथा कांग्रेस बागमती प्रदेश समितिका महामन्त्रीसमेत रहेका बादेलाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानबमोजिम संसदीय दलको सदस्य सचिवमा प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । महर्जन सदस्यसचिवको भूमिकामा पनि रहने भएका छन् ।
महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद् हुन । दलका तत्कालीन नेता बहादुरसिंह लामामाथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेता निर्वाचनमा बादे र महर्जनले बानियाँको पक्षमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नेकपा एमालेले भने बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मकवानपुरका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठलाई नियुक्त गरेको छ । मकवानपुर क्षेत्र–१ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठ यसअघि प्रदेशमा खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । साउन २० गतेको निर्णयका आधारमा एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम श्रेष्ठलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो । हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेता थपलियाले उनलाई औपचारिकरुपमा नियुक्तिपत्र हस्तान्तरण गरे ।











प्रतिक्रिया