ब्रा भित्र लुकाएर १.९५ किलो कोकिन तस्करी प्रयास, ब्राजिलियन महिला त्रिभुवन विमानस्थलमा पक्राउ


काठमाडौं ।

लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान जान लागेकी एक ब्राजिलियन महिलालाई करिब २ किलो कोकिनसहित पक्राउ गरेको छ।

पक्राउ परेकी २१ वर्षीया इमिली मिकाएले सान्टोस फेरेइरा ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी थिइन्। विमानस्थलको प्रस्थान कक्ष अगाडि प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि तलासी गर्दा उनले लगाएको कालो रंगको ब्रा भित्र तरल अवस्थामा राखिएको १ केजी ९५० ग्राम कोकिन फेला परेको हो।

प्रहरीका अनुसार उक्त लागुऔषध उनले ब्राजिलबाट ल्याई नेपाल हुँदै भुटान पुर्‍याउने योजना थियो। फेला परेको कोकिन अन्तर्राष्ट्रिय बजारमा करोडौं रुपैयाँ मूल्य बराबरको हुने अनुमान छ।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हाल अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।