भन्ज्याङ खण्डको ढलान सुरु, अब चाडै पिच गर्ने तयारी

 समाचार प्रभाव 


ललितपुर ।

 ललितपुर महानगरपालिकाले भन्ज्याङ सडक निर्माण सुरु गरेको छ । ललितपुर महानगरपालिकाको गम्भीर लापरबाहीको कारण दुई वर्षदेखि सडक अलपत्र भएको समाचार प्रकाशित भएको भोलीपल्ट निर्माणकार्य सुरु गरेको हो । 

भञ्ज्याङदेखि माझीदोबाटोसम्मको करिब ८ सय मिटर सडकको बेहाल भएको थियो ।दैनिकसयौं  सवारी साधन गुड्ने सडकमर्मत गर्ने विषयमा महानगरपालिका तातेको छ । 

  ठेकेदारलाई तत्काल काम सुरु गर्न महानगरपालिकाले निर्देशन दिएपछि मंगलबारबाट  काम सुरु गरेको हो । सो बाटो निर्माण हुन नसक्दा दैनिक आधा दर्जन बढी सानासवारी साधन दुर्घटना हुने गरेको थियो । ललितपुर महानगरपालिका–१८ वडा, स्थानीय वालकुमारी सिर्जना क्लब  र स्थानीयवासीले  सडक मर्मत गर्न पटकपटक आग्रह गर्दा समेत ठेकेदारले वेवास्ता गरेको थियो ।

  बाटो निर्माण गर्न महानगरपालिका पुर्वाधार निर्माण महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रदीप पौडेलले ठेकेदारलाई तत्काल काम शुरुगर्न निर्देशन दिएका थिए । लगत्तै ठेकेदारले डोजर ल्याएर काम सुरु गरेका थिए  । अब करिब एकसाताभित्र ढलानको काम सम्पन्न हुनेछ । ढलान सम्पन्न भएपछि पिच हुन केही दिन लाग्ने भएको छ । 

 विद्युतको पोल सार्न र केही स्थानमा मर्मत गर्न बाकी रहेकोले केहीदिन ढिलाई हुनेभएको छ । महाशाखा प्रमुख पौडेलले अब लगातार काम हुने जानकारी दिए । भने–मंगलबारबाट काम थालेका छौ । केहीदिनमा सम्पन्न गर्नेछौ । 

 उनले स्थानीयको समस्याको कारण पिच गर्न केहीदिन समय लाग्ने बताए। महाशाखा प्रमुख पौडेलले स्थानीयको समस्या समाधान गर्न वडा कार्यालयले पहल गर्नुपर्ने बताए । वडा अध्यक्ष दामोदर खड्काले मुख्य  समस्याको रुपमा रहेको ढलानको काम  सुरु भएको र केही दिनमा सम्पन्न हुने जानकारी दिए ।

 भन्ज्याङ उकालोमा ढलानबाटो भत्काएको करिब ४ महिना भयो । पिच गरेपछि ढलान भत्काएर पुनः ढलान गर्नुपर्नेमा त्यसो नगरी एकाएक ढलान भत्काएपछि दैनिक दुर्घटना बढेको  थियो ।  काम सुरु गरिसकेका छौ, अब त्यस्तो अवस्था हुदैन–वडा अध्यक्ष खड्काले भने ।  सो क्षेत्रमा ४० मिटर ढलान हुनेछ । स्थानीय नवराज कुँवरले स्थानीय र मिडियाको दबाबको कारण हिजो मंगलबारबाट काम सुरु भएको बताए ।भने –अब लगातार काम हुनेमा हामी विश्वस्त छौ । महानगरले भञ्ज्याङदेखि माझी दोबाटोसम्म ८ सय मिटर बाटो निर्माण सुरु गरेको थियो ।