रसुवा।
गोसाइकुण्ड पदमार्गमा अवस्थित होटल तथा अस्थायी थर्पु व्यवसायीहरूमा अनुगमन गर्दा २६ वटा होटल र ६४ वटा थर्पुमाथि कारबाही गरिएको छ। अनुगमनको क्रममा मापदण्ड नपुगेका होटल र थर्पुहरूबाट जम्मा ३ लाख ८० हजार रुपैयाँ बराबरको जरिवाना असुल गरिएको हो।
प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइकुण्डमा लाग्ने मेलामा अस्थायी व्यवसाय सञ्चालनमा गुनासा बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीको नेतृत्वमा सुरक्षा निकाय, लाङटाङ राष्ट्रिय निकुञ्ज, कोलेनिका, र गोसाइकुण्ड गाउँपालिका सम्मिलित टोलीले संयुक्त अनुगमन गरेको हो।
अनुगमनका क्रममा २६ वटा होटल र थर्पु व्यवसायीहरूले खानेपानी, शौचालय, मूल्यसूची, फोहोर व्यवस्थापन लगायतका आवश्यक मापदण्ड पालना नगरेको पाइएपछि प्रति व्यवसायी ५ हजारदेखि ३५ हजार रुपैयाँसम्म जरिवाना गरिएको हो।
त्यस्तै, अस्थायी रूपमा सञ्चालनमा रहेका ६४ वटा थर्पुहरूमध्ये धेरैले शौचालयको व्यवस्था नगरेको, फोहोर खुला फालिएको, र मूल्यसूची तोकिएको नभएको पाइएपछि उनीहरूलाई आगामी दिनमा अनिवार्य रूपमा शौचालय निर्माण, फोहोर व्यवस्थापन र पारदर्शी मूल्यसूची अनुसार सेवा दिन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ।












प्रतिक्रिया