हेटौंडा।
इन्द्रबहादुर बानियाँ वागमती प्रदेशको छैटौं मुख्यमन्त्री बन्नुभएको छ । प्रदेशसभाका कूल १ सय १० मध्ये सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी गर्नुभएकोमा बानियाँलाई मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्त गरी सपथ गराउनुभएको हो । नेपालको संविधानको धारा १६८ को २ अनुसार उहाँ कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । वागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा बानियाँलाई समर्थन गर्दै एमाले वागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो । बानियाँ २०७४ र २०७९ मा मकवानपुर क्षेत्र–२ (२) मा लगातार निर्वाचित हुनुभएको थियो ।
२०७० सालमा संविधानभा सदस्य निर्वाचित भएपछि संघीय गृहराज्य मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहनुभयो । सपथपछि उहाँले भन्नुभयो– ‘निष्पक्ष र सक्रिय भएर वागमती प्रदेशको गौरव बढाउने यात्राको सुरुवात गर्नेछु ।’ जनसरोकारसँग जोडिएका यस्ता अनेकौं विषय छन्, जसमा पार्टी जोडिनुपर्छ भन्ने बानियाँको मान्यता छ ।

८ मन्त्रीको सपथ
मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ८ मन्त्रीलाई शपथग्रहण गराउनुभएको छ । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसीलाई वन तथा वातावरण, किरण थापालाई स्वास्थ्य र विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्नुभएको छ ।
कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिँचाइमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ । प्रदेशका १४ मध्ये कांग्रेसको भागमा परेका ७ मन्त्रालयमा २ मन्त्री नियुक्त गरी ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैं मातहत राख्नुभएको छ ।
को हुन् बानियाँ ?
स्व. क्षेमबहादुर बानियाँ र प्रेमकुमारी बानियाँका सन्तान उहाँ २०२७ भदौ १५ गते मकवानपुरको साविक हर्नामाडी–४, दियावातीमा जन्मिनुभएको हो । बानियाँ हाल हेटौंडा–५ स्थित सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आउनुभएको छ । बानियाँले आफ्नो राजनीतिक यात्रा २०४४ सालदेखि शुरू गरी २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनुभएको छ ।
उहाँ २०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर सहसचिव, २०५५ मा नेपाल तरुण दल मकवानपुर सचिव र २०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष बन्नुभएको थियो । सोही वर्षदेखि निरन्तर नेपाली कांग्रेस महासमिति सदस्य रहनुभएका उहाँ कांग्रेस प्रदेश सभापति पनि हुनुहुन्छ ।
२०५८ सालमा पार्टी जिल्ला सदस्य बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित हुनुभयो । २०७० मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभयो । बानियाँ २०७२–२०७९ नेपाली कांग्रेस मकवानपुर सभापति हुनुहुन्थ्यो । साउन १४ गतेमात्र कांग्रेस प्रदेश संसदीय दलको नेता निर्वाचित बानियाँले मुख्यमन्त्री बन्न करिब ८ वर्ष प्रतीक्षा गर्नुप¥यो ।











प्रतिक्रिया