काठमाडौँ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जना वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउने क्रममा नदीको बीच भागमा फसेका थिए। एक्कासि नदीको पानीको बहाव बढेपछि उनीहरू बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले मोटर बोटको सहायताले दुवै जनालाई सकुशल उद्धार गरेको हो। उद्धारपछि उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
यसैबीच, बबई नदीमा लगातार पानीको बहाव बढ्दै जाँदा बर्दिया र सुर्खेतका विभिन्न स्थानहरू डुवानमा पर्न सक्ने जोखिम देखिएको छ।
बबई जलमापन केन्द्रका अनुसार नदीको जलस्तर सतर्कता तह पार गर्दै ७.१७ मिटर पुगेको छ। खतरा तह ६.८० मिटर मानिन्छ, जसको आधारमा बबईमा डुवानको सम्भावना झनै बढेको देखिन्छ।
डुवानको जोखिमका कारण सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया र नं. ३२ रक्तकाली गण सुर्खेतका सुरक्षा फौजलाई आवश्यक विपद् व्यवस्थापन सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।











प्रतिक्रिया