‘लालकिल्ला’ तोडेका बानियाँ बने छैठौं मुख्यमन्त्री


हेटौंडा । 

कम्युनिष्टको राजनीतिक ‘लालकिल्ला’ तोडेका मकवानपुरका इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका छन् । बहुदलपछि निरन्तर एमालेले जितिरहेको मकवानपुरलाई ‘लालकिल्ला’ भन्ने गरिएको थियो । नेपाली कांग्रेसको हाईहाई भएको कालखण्ड २०१५ सालको निर्वाचनमा समेत जित्न नसेको इतिहास सच्याउँदै २०७० को निर्वाचनमा कांग्रेस पहिलो नम्बरको पार्टी बनेको हो र एमालेको किल्ला भत्काएको हो ।

२०४६ सालमा बहुदलपछि अधिकांश समय ‘लालकिल्ला’ का रुपमा रहेको मकवानपुरमा कांग्रेसको विजयको झण्डा फहराउने श्रेय बानियाँलाई जान्छ । आफ्नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल हुनुलाई पनि उनको राजनीतिक परिपक्वताको प्रमाण मानिएको छ ।

मकवानपुर यस्तो क्षेत्र हो, जहाँ पञ्चायतकालमा पञ्चायतकै वर्चश्व रह्यो । बहुदल आएदेखि एमाले र माओवादीको किल्ला रह्यो । कांग्रेसले कहिल्यै पनि जितेन । अतितका हरेक निर्वाचनमा पहिलो पार्टी एमाले, दोस्रो पार्टी कहिले माओवादी, कहिले राप्रपा भए । कांग्रेस जहिले पनि तेस्रो या चौथो पार्टीमै सीमित हुँदै आयो । तर, बानियाँकै राजनीतिले पासा पल्टाइदियो, २०७० मा कांग्रेस पहिलो पार्टी बन्यो ।

प्रदेशसभाका कुल १ सय १० मध्ये सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी गरेकामा बानियाँलाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले मुख्यमन्त्री नियुक्त गरी सपथ गराएका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो ।

२०५१ बाहेक निरन्तर एमाले र २०६४ मा मकवानपुरमा माओवादीले विजय हासिल गरेको थियो । वर्षौंदेखि कांग्रेसलाई मतदान गरे पनि पराजित भएर निरास बनेका कांग्रेसजनमा २०७० सालको संविधानसभा निर्वाचनमा लालकिल्ला भत्काएर बानियाँले नयाँ ऊर्जा थपेसँगै सांगठनिक अभियानलाई आक्रामकढंगले अघि बढाएर जिल्लामा कांग्रेसलाई बलियो बनाएका थिए । बानियाँ २०७४ र २०७९ मा मकवानपुर क्षेत्र–२ (२) मा लगातार निर्वाचित भएका थिए ।

२०७० सालमा संविधानभा सदस्य निर्वाचित भएपछि संघीय गृहराज्य मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँ प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहे ।

सपथपछि उनले भने–निष्पक्ष र सक्रिय भएर बागमती प्रदेशको गौरव बढाउने यात्राको सुरुवात गर्नेछु । जनसरोकारसँग जोडिएका यस्ता अनेकौं विषय छन्, जसमा पार्टी जोडिनुपर्छ भन्ने बानियाँको मान्यता छ ।

८ मन्त्रीको सपथ

मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले ८ मन्त्रीलाई सपथग्रहण गराएका छन् । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी, डा. दिनेशचन्द्र देबकोटालाई भौतिक पूर्वाधार विकास, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसीलाई वन तथा वातावरण, किरण थापालाई स्वास्थ्य र विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिचाईंमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिनविभागीय मन्त्री नियुक्त गरिएको छ । प्रदेशका १४ मध्ये कांग्रेसको भागमा परेको ७ मन्त्रालयमा २ मन्त्री नियुक्त गरी ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैंमातहत राखेका छन् ।

को हुन् बानियाँ ?

स्व. क्षेमबहादुर बानियाँ र प्रेमकुमारी बानियाँका सन्तान उनी २०२७ भदौ १५ गते मकवानपुरको साबिक हर्नामाडी–४, दियावातीमा जन्मिएका हुन् । बानियाँ हाल हेटौंडा–५ स्थित सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आएका छन् । बानियाँले आफ्नो राजनीतिकयात्रा २०४४ सालदेखि सुरु गरी २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएका छन् ।

उनी २०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर सहसचिव, २०५५ मा नेपाल तरुण दल मकवानपुर सचिव र २०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष बनेका थिए । सोही वर्षदेखि निरन्तर नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी कांग्रेस प्रदेश सभापति पनि हुन ।

२०५८ सालमा पार्टी जिल्ला सदस्य बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भए । २०७० मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भए । बानियाँ २०७२–२०७९ नेपाली कांग्रेस मकवानपुर सभापति थिए । साउन १४ गतेमात्र कांग्रेस प्रदेश संसदीय दलको नेता निर्वाचित बानियाँले मुख्यमन्त्री बन्न करिब ८ वर्ष प्रतीक्षा गर्नुपर्यो ।