काठमाडौँ।
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन् ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक कामगर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गरे ।
उनले भने, “गत वर्षको प्राकृतिक विपद्, स्रोतको सीमितता र प्राविधिक जटिलतासहितका थुप्रै चुनौतीहरूको सामना गर्दै, मन्त्रालय सहित विभाग देशव्यापी रूपमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । यो हाम्रा लागि निकै खुशीको विषय हो ।”
गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितता तथा प्राविधिक जटिलताका बाबजुद मन्त्रालय र विभागले देशभर खानेपानी तथा सरसफाइ क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको मन्त्री यादवले बताए ।
उनले भने, “खानेपानी मन्त्रालय अहिले विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा उत्कृष्टको रूपमा स्थापित हुनुका साथै जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको एक संवेदनशील र सेवाप्रदायक मन्त्रालय साबित भएको छ ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागले यस दिशामा खेलेको भूमिका प्रशङ्सनीय रहेको बताउनु हुँदै मन्त्री यादवले गत आर्थिक वर्षमा हासिल भएका प्रगतिहरूले हाम्रो राष्ट्रिय लक्ष्य ‘स्वच्छ नेपाल : स्वस्थ नेपाली’ लाई प्राप्त गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याएको जिकिर गरे ।
“हामी सबैका लागि विगत वर्षमा हासिल भएका उपलब्धिहरूको समीक्षा गर्ने, सामना गरेका चुनौतीहरूको स्पष्ट पहिचान गर्ने, र भविष्यका लागि ठोस कार्यदिशा तय गर्ने एक महत्वपूर्ण घडी हो,” उनले भने, “यो समीक्षा केवल तथ्याङ्कहरूको प्रस्तुति मात्र नभई, हाम्रो सामूहिक प्रयास, समर्पण र भविष्यका लागि नवीन योजनाहरूको खाका तयार पार्ने अवसर पनि हो ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी मन्त्रालयको व्यवस्थापन क्षमता थप सुदृढ गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत अस्थायी संरचनामा सञ्चालन भइरहेका आयोजनाहरूलाई १५ वटा स्थायी कार्यालयको रूपमा रुपान्तरण गरिएका कारण यसले आयोजनाहरूको दिगो सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने विश्वास व्यक्त गरे ।
सोही क्रममा मन्त्री यादवले जलवायु परिर्वतनका कारण समस्या उत्पन्न भएको तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको औँल्याए । उन ले भने, “तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानको ठोस उपायमा काम गर्न म विभागलाई लागि निर्देशन दिन्छु ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागमा महानिर्देशक ई रामकुमार श्रेष्ठले गत आर्थिक वर्षमा खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा गरेका कार्यहरूको विस्तृत जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “मन्त्री ज्युको स्पष्ट निर्देशन, मन्त्रालय सहित विभागका कर्मचारीहरुको सहयोगमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको छ । आगामी दिन थप प्रगति गर्ने छौँ ।”
कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठले विभागले आर्थिक वर्ष २०८१/८२ मा हासिल गरेको प्रगति प्रति खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा विभागीय निर्देशक, प्राविधिक, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया