–ललितपुर महानगरपालिका पूर्वाधार निर्माण महाशाखाको गैरजिम्मेवार जवाफ : स्थानीयका कारण समस्या भएको हो
–निर्माण गर्ने टुङ्गो नहुँदै ढलान भत्काएको विषयमा महाशाखा प्रमुख नाजवाफ
ललितपुर ।
ललितपुर महानगरपालिकाको गम्भीर लापरबाहीको कारण दुई वर्षदेखि सडक अलपत्र भएको छ । भञ्ज्याङदेखि माझीदोबाटोसम्मको करिब ८ सय मिटर सडकको बेहाल भएको छ । दैनिक सयांै सवारी साधन गुड्ने सडकमर्मत गर्ने विषयमा महानगरपालिकाले समेत खासै चासो देखाएको छैन ।
ठेकेदार र महानगरको लापरबाहीका कारण भञ्ज्याङमा दैनिक दर्जन बढी दुर्घटना हुने गरेका छन् । ललितपुर महानगरपालिका–१८ वडा, स्थानीय बालकुमारी सिर्जना क्लब र स्थानीयवासीले सडक मर्मत गर्न पटकपटक आग्रह गर्दासमेत ठेकेदारले बेवास्ता गरेको छ । राजधानीमै ठकेदारले जिम्मा लिएको सडकको काम नगर्दा महानगर मूकदर्शक बनेको छ ।
पिच, खानेपानी पाइप र पोल सार्ने जिम्मा लिएको कम्पनीले हालसम्म काम गर्न नसक्दा महानगरपालिका मूकदर्शकजस्तै भएको छ । भञ्ज्याङ उकालोमा ढलानबाटो भत्काएको करिब ४ महिना भयो । पिच गरेपछि ढलान भत्काएर पुनः ढलान गर्नुपर्नेमा त्यसो नगरी एकाएक ढलान भत्काएपछि दैनिक दुर्घटना बढेको छ ।
बाटो मर्मत र भञ्ज्याङ खण्डको ढलान गर्ने विषयमा पटकपटक आग्रह गर्दासमेत ठेकेदारले बेवास्ता गरेको वडाअध्यक्ष दामोदर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले त भन्दा भन्दा आजित भइसकेँ ।’ वडावासीले दैनिक गुनासो गर्दासमेत केही गर्न सकेको अवस्था छैन । ठेकेदारले तत्काल पिच र ढलान गर्ने आश्वासन दिएको महिनौं दिन भइसक्यो तैपनि केही नगरेको उहाँको आरोप थियो ।
‘भञ्ज्याङ खण्डमा त बिजोग छ, दैनिक दुर्घटनाको खबर आउँदासमेत सुनेर बस्नुबाहेक केही गर्न सकिएको छैन’ –अध्यक्ष खड्काले भन्नुभयो । ‘मैले केही गर्न सकिनँ । अब तपाईं नै कुरा गर्नुस्’ –ठेकेदारलाई पटकपटक आग्रह गर्दा नमानेपछि आजित भएर वडाअध्यक्ष खड्काले टोलबासीलाई भन्नुभयो । उहाँले दैनिकजसो महनगरपालिका पुग्दा पनि समस्याको समाधान हुन नसकेको गुनासो गर्नुभयो ।
महानगरपालिका पूर्वाधार निर्माण महाशाखा प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रदीप पौडेलले स्थानीयकै कारण बाटो मर्मत हुन ढिलाइ भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘काम गर्ने बेला भयो । कहिले पाइप हाल्न थालेको हुन्छ त कहिले मर्मत गर्न थालेका हुन्छन् । करिब ८ सय मिटर लामो उक्त बाटो पिच गर्न आदेश दिन नसक्ने र भइरहेको ढलान अलपत्र पार्ने ठेकेदारलाई खासै कारबाही गर्न नसक्ने महाशाखा प्रमुख पौडेलले जवाफ दिनुभयो, मलाई गाली गर्दैमा केही हुँदैन ।’
दैनिकजसो सवारी साधन दुर्घटना भइरहेको विषयमा उत्तर दिँदै भन्नुभयो–‘बनाउँदै छौं । के गर्ने त ।’ नेपाल समाचारपत्रको प्रश्नको गलत उत्तर दिँदै उहाँले भन्नुभयो– ‘स्थानीयका कारण समस्या भएको हो ।’
ढलान बाटोमा त पाइप छैन त ? पहिला पिच गरेर ढलान फोडेको भए के हुनेथियो त ? भन्ने प्रश्नमा उहाँको उत्तर थियो– ‘काम गर्दा जसरी सजिलो हुन्छ त्यसरी नै गरिरहेको होला ।’ चारपटक म्याद थपिसक्दा पनि अझै काम भएको छैन । असारमा मात्र ठेक्का दिएको होइन होला नि त ? दुई वर्ष भइसक्यो नि भन्ने प्रश्नमा महाशाखा प्रमुख पौडेलको भनाइ थियो– ‘तपार्इं झगडा गर्न खोज्नुभएको हो ? कार्यालयको विषयमा जवाफ लिने भए प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस्, उहाँ नै हाम्रो हाकिम हो ।’ लगत्तै उहाँलाई प्रश्न सोध्यांै तपार्इं महाशाखा प्रमुख होइन ? हो के गर्ने त ? उहाँको उत्तर थियो । महाशाखा प्रमुख पौडेलको भनाइलगत्तै प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठलाई सम्पर्क गर्दा उहाँले मोबाइल उठाउनुभन । सो विषयमा मेयरका स्वकीय सचिव इन्द्र बज्राचार्यलाई समेत जानकारी गराइएको थियो । उहाँले सो विषयमा सम्बन्धित विभागीय प्रमुख पौडेललाई ध्यानाकर्षण गराएको बताउनुभयो ।
महाशाखा प्रमुख पौडेलले सो बाटो निर्माण हुन नसकेको बारे जानकारी लिन र महाशाखाले कति दबाब दिएको छ ? भन्ने बारेमा बुझ्न कार्यालय आउन आग्रह गर्नुभयो । भञ्ज्याङ क्षेत्रमा दैनिक दुई दर्जन बढी विद्यालयका सवारी गुड्छन् । बाटो ध्वस्त भएर दैनिक दर्जनौं सवारी फस्ने गरेको छ ।
वडा अध्यक्ष खड्काले बाटो निर्माण हुन नसकेको विषयमा आफूले सबै तहसँग कुरा गरिसकेको बताउनुभयो । स्थानीय नवराज कुँवरले दुई वर्ष बित्दा पनि ८ सय मिटर बाटो बनाउन नसक्नु महानगरको गम्भीर लापरबाही भएको आरोप लगाउनुभयो । वडा अध्यक्ष खड्काले यसविषयमा हिजै महानगरपालिकासँग कुराकानी गरेको जानकारी दिनुभयो ।











प्रतिक्रिया