राष्ट्र बैंकको नीतिविपरीत गएपछि सम्पत्ति मूल्याङ्कन बन्द


काठमाडौं ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकविरुद्ध इन्जिनियरहरूको दर्जनभन्दा बढी संस्था एकजुट भई बहिष्कारमा उत्रिएका छन् । नेपाल भ्यालुयर्स एसोसियसनको अगुवाइमा उक्त बैंकको मूल्याङ्कनसम्बन्धी सम्पूर्ण कार्य ठप्प पार्दै बहिष्कारमा उत्रिएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशिकाविपरीत मूल्याङ्कनकर्तालाई शर्तनामा गराउने, एकपक्षीय रूपमा बिना सुनुवाइ कालोसूचीमा राख्नेजस्ता कार्य गरेपछि एसोसिएसनले एक सातादेखि सो बैंकको सम्पूर्ण मूल्याङ्कनसम्बन्धी कार्य रोकेको छ । एसोसिएसनको कदमप्रति विभिन्न १४ वटा पेशागत संगठनले ऐक्यबद्धता जनाएका छन् ।

ऐक्यबद्धता जनाउनेहरूमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्ट्स एन्ड इन्जिनियरिङ फम्र्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल, जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटी, ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल, प्लानर्स सोसाइटी अफ नेपाल रहेका छन् ।

त्यस्तै, डेमोक्र्याटिक इन्जिनियर्स अलायन्स, इन्जिनियर्स जनमत संघ, समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले पनि भ्यालुयर्स एसोसिएसनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकविरूद्ध आन्दोलनमा समर्थन जनाएका छन् ।

बैंकले दुःख दिएको गुनासो आएपछि एसोसिएनले आन्तरिक सर्वेक्षण गरेको थियो । जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई सबैभन्दा धेरै दुःख दिएको पाइएपछि एसोसिएसनले साउन १२ गतदेखि सो बैंकलक्षित आन्दोलन शुरू भएको हो ।

मूल्याङ्कनकर्ताहरू विरोधमा उत्रिएपछि एक सातादेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको धितो मल्याङ्कनलगायतका कार्य ठप्प रहेका छन् । जसका कारण बैंकको ऋण लगानीसम्बन्धी कार्य अगाडि बढ्न सकेको छैन । बजारमा देखिएको आर्थिक मन्दी र घरजग्गा कारोबारमा आएको शिथिलताका कारण बजारमा खरिद बिक्री न्यून छ ।

कारोबार कम हुँदा वस्तुको मूल्य घट्नुलाई बैंक तथा वित्तीय संस्थाका लागि सम्पत्तिको मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि दोष थोपर्ने कार्र्य भइरहेको छ । र, यस कार्यमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक मनोमानी ढंगले अगाडि बढेपछि सो बैंकका काम रोकेर आन्दोलन उत्रिनुपरेको आन्दोलनकर्ताहरूको भनाइ छ ।

सोमबार एसोसिएसनको प्रतिनिधिले नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँग छलफलसमेत गरेको छ । छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विषयलाई गम्भीरतापूर्वक लिएको भन्दै छिट्टै समस्या समाधान गर्ने आश्वासन दिनुभएको एसोसिएसनका अध्यक्ष सञ्जयकुमार महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

मूल्याङ्कनकर्ता इन्जिनियरको कमजोरी भए इन्जिनियरिङ परिषद्मार्फत कारबाही गर्नुपर्ने आपूmहरूको भनाइ रहेको उल्लेख गर्दै अध्यक्ष महतोले नेपाल बैंकर्स संघले पनि समस्या समाधान गर्न पहल गर्ने बताएका कारण एसोसिएसनले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगै लैजाने बताउनुभयो ।

एसोसिएसनले २०७४ सालमा नेपाल बैंकर्स संघ र आफूबीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फम्र्याट तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, घरजग्गाको मूल्य र मूल्याङ्कन घटेकै कारण मूल्याङ्कनकर्ता इन्जिनियरलाई कालोसूचीको कारबाही सिफारिस फिर्ता लिनुपर्नेलगायतका मागसमेत राखेको छ ।