प्रतिनिधिसभा बैठक आज १ बजे, वैकल्पिक वित्त विधेयक पारितको कार्यसूची


काठमाडौं ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिइनेछ।

कृषिमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।