काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन (LLDCs Conference) मा सहभागी हुन सोमबार तुर्कमेनिस्तान पुगेका छन् । प्रधानमन्त्री ओली दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहरमा अवतरण गरेका हुन्।
स्थानीय समयअनुसार दिउँसो २:३० बजे अवाजास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरे। उच्च सम्मानका साथ स्वागत गरिएका ओली यसपटकको सम्मेलनमा नेपालका तर्फबाट औपचारिक सम्बोधन गर्ने कार्यक्रम छ।
यही साउन २० देखि २३ गतेसम्म (५–८ अगस्ट) आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।
एलएलडिसी सम्मेलनमा विश्वका भूपरिवेष्टित राष्ट्रहरूबीच पारवहन पहुँच, व्यापार, वातावरणीय जोखिम र दिगो विकासका विषयमा छलफल हुने छ। नेपालले सम्मेलनमा क्षेत्रीय सहयोग, पूर्वाधार निर्माण, तथा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार यस्तो सम्मेलनमा नेपालको सक्रिय उपस्थितिले देशको कूटनीतिक हैसियत र भूपरिवेष्टित राष्ट्रको रूपमा भोगिरहेका चुनौतीलाई विश्वमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर मिल्नेछ।











प्रतिक्रिया