बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा


काठमाडौँ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आइतबार एक सम्बोधनसँगै पदबाट राजीनामा दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी उनले दिएका छन् ।

सभापति देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने अडान राखेका थिए।

मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।

तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको थियो।